काठमाडौं, मंसिर १४ । नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरासमेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गरेको नदेखिएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशङ्का र खतरा बढेको उल्लेख गरे । उनले यस विषयमा गम्भीर भएर पहलकदमी गर्न सरकारलाई आह्वानपनि गरे ।
उनले भने, “पछिल्लो समय त्यस्तै घटना दोहोरीएको छ, वीपी कोइरालाले आफ्नो पालामा शिलान्यास गर्नुभएको बनेपा–वर्दीवास सडक गिरिजाप्रसाद कोइरालाको पालामा जापानको सहभागितामा निर्माण प्रारम्भ भई काम सम्पन्न भयो । त्यही सडकसँग गाँसिएको धुलिखेलदेखि सूर्यविनायकसम्मको खण्ड विस्तार गर्ने जिम्मेवारीबाट जाइका बाहिरीने संकेत देखिनुु दुःखद छ ।”
रोजगार कार्यक्रमका नाममा सरकारले गएको वर्ष अनुत्पादक ढङ्गले मुलुकको रु चार अर्ब स्वाहा बनाएको आरोप लगाउँदै प्रवक्ता शर्माले त्यही असफल परियोजनाका लागि विश्व बैंकसँग रु १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थपिन लागेको बताए । काँग्रेसले स्थायी रोजगारी सृजनाको क्षेत्रमा नविन सोचका साथ अघि बढ्न सरकारसँग अपिल गर्दै यसरी अनुत्पादक ढङ्गले अघि बढ्ने कर्मप्रति सर्तक रहन आग्रह गरेको छ । पत्रकार सम्मेलनको शुरुमै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।