मध्यपुरथिमिदेखि काभ्रे नाकासम्म गाडी चलाउन रोक

मध्यपुरथिमिदेखि काभ्रे नाकासम्म गाडी चलाउन रोक

भक्तपुर, मंसि १४ । भक्तपुर क्षेत्र नं १ प्रदेश (क) उपनिर्वाचनको दिन आज पेप्सिकोला, मध्यपुरथिमि राधेराधेदेखि काभ्रे नाकासम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले विज्ञप्तिमार्फत उपनिर्वाचनको सुरक्षालाई दृष्टिगत गरी शुक्रबार राति १२ देखि आज शनिबार राति ९ बजेसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा रोक लगाएको जनाएको छ ।

एम्बुलेन्स, शववाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृत एवं स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनलाई प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
प्रहरीले अरनिको राजमार्ग काभ्रेको साँगादेखि मध्यपुरथिमिको राधेराधेसम्मको सडक खण्डबाट उत्तरतर्फ जाने सम्पूर्ण सडकमा सवारी प्रवेश निषेध गरेको छ ।

त्यस्तै राधेराधे चोकबाट निकोसेरा चोकसम्मका सडक र उक्त सडक खण्डबाट पूर्वतर्फ जाने सम्पूर्ण सडक, पेप्सिकोला मनोहरादेखि निकोसेरा सडकबाट उत्तरतर्फ जाने सम्पूर्ण सडक, काठमाडौँबाट भक्तपुर आउने पेप्सिकोला मनोहरा तथा जडीबुटी मनोहरा नाका बाहेकका सम्पूर्ण नाका र काभ्रेबाट भक्तपुर आउने साँगा नाका बाहेकका सम्पूर्ण नाकाबाट सवारी साधन प्रवेशमा रोक लगाएको उनले बताए ।

केही घटना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने

प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुगिसकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आज उपनिर्वाचनको तयारीबारे जानकारी दिदै मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको बताए ।

Trending News