काठमाडौँ, मंसिर १४ । पोखरामा फेरि बम विस्फोट भएको छ । कास्की क्षेत्र नम्बर २ स्थित पोखरा महानगरपालिकाको वडा नम्बर १६ को दीप चण्डिका मतदानस्थल नजिकै बम विस्फोट भएको हो ।
विस्फोटबाट कुनैपनि मानवीय क्षति नभएतापनी मतदान गर्न आउने मतदाताहरुमा त्रास सिर्जना भएको छ ।
मतदान शुरु हुन लाग्दा शनिबार विहान पोखराकै दुई स्थानमा बम विस्फोट भएको थियो ।
पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय मावि र नयाँबजारको नवप्रभात र पोखरा–१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।
उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।
मतदान स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको कारण मतदाताहरुलाई त्रासरहित भई मतदान गर्न जिल्ला प्रहरी कार्यलय कास्कीले आह्वान गरेको छ । त्यस्तै बम विस्फोटमा संलग्न हुनेहरुलाई प्रहरीले खोजी गरिरहेको समेत जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।