
काठमाडौँ, मंसिर १४ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अनौठो अनौठो उपाय लगाएर अवैध सामाग्रीहरुको ओसारपसार भइरहने गर्दछन् । चेकजाँच र सुरक्षा व्यवस्थालाई कडा बनाइएपछि तस्करीहरु अवैध सामाग्रीको ओसारपसार गर्नका लागि अनेक उपायहरु लगाउँछन् । शुक्रबार राति विमानस्थल प्रहरीले यस्तै अनौठो तरिकाले सुन तस्करी गर्ने एक चिनियाँ नागरिकलार्इृ नियन्त्तणमा लिन सफल भएको छ ।
शुक्रबार राति तिब्बत एयरको उडानबाट त्रिभुवन विमानस्थल अवतरण गरेका २२ बर्षीय चिनियाँ नागरिक एक किलो सुनसहित पक्राउ परे । विमानस्थल भन्सार कार्यलय र प्रहरीको टोलीले आगमन कक्षमा चेकजाँच गरिरहेका थिए । चिनियाँ नागरिकलाई चेकजाँच गर्ने क्रममा उनको बाहिरी शरिरमा कुनैपनि अवैध सामाग्रीहरु नभएको देखियो । तर चेकजाँचमा प्रयोग गरिने मेटल डिटेक्टरले खतराको आवाज निकालिरहेको थियो । प्रहरी र भन्सार कार्यलयबाट खटिएका कर्मचारीहरुले अझै राम्रो तरिकाले खानतलासी लिए तर उनको बाहिरी शरिरमा कुनैपनि शंकास्पद बस्तु भेटिएन ।
बाहिरी शरिरबाट कुनैपनि अवैध सामाग्री नभेटिएपछि ती चिनियाँ नागरिकले शरिरभित्र नै कुनै अवैध बस्तु राखेको हुनसक्ने प्रहरीले शंका गर्यो । तत्काल ती व्यक्तिलाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइयो । अस्पताल पुर्याएर उनको शरिरको एक्स–रे गरियो । एक्स–रे बाट ती व्यक्तिले मलद्धारभित्र शंकास्पद बस्तु राखेको देखियो । चेकजाँचमा खटिएका अधिकारीहरु त्यतिबेला छक्क परे जतिबेला ती चिनियाँ नागरिकको मलद्धारबाट एक किलो सुन बरामद भयो । मलद्धारभित्र ४ वटा टुक्रा पारिएका सुन थिए र ती सबैको परिमाण एक किलो हुन आयो ।
ईआई ७९९७८८२ नम्बरको राहदानी वाहक सुनसहित पक्राउ परेपछि प्रहरीले उनको बारेमा थप अनुसन्धान गरिरहेको छ ।