नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको अध्यक्षमा केशव पुरी सर्वसम्मत निर्वाचित

diyopost.com
दियो पोस्ट  आइतबार, कार्तिक २८, २०७८ | १५:१६:५२

काठमाडौं : नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा केशव पुरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार धुलिखेलस्थित होटल हिमालयन होराइजनमा सम्पनन अधिवेशनले पुरीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा प्रकाश खड्गी र सुमन पाण्डे निर्वाचित भएका छन् । महासचिवमा हरिहर ढुंगाना, सचिवमा उमेश नकर्मी र कोषाध्यक्षमा किरण थापा मगर निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरूमा फिरोज श्रेष्ठ, कविराज माली, भास्कर श्रेष्ठ, केशव थापा, दिनेशकुमार बाँडा, राजेन्द्र खड्गी, रामचन्द्र ब्यञ्जनकार, नरेन्द्र थापा, रामकृष्ण श्रेष्ठ र वीरमान स्याङतान निर्विरोध निर्वाचित भए। त्यस्तै शनिबार नै सम्पन्न पहिलो बैठकले वागतमी प्रदेशका सांसद विराजभक्त श्रेष्ठ र व्यावसायी दीपक मल्होत्रालाई उपाध्यक्ष मनोनित गरेको छ ।]

अधिवेशन उद्घाटन गर्न पूर्व सुचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत धुलिखेल पुगेका थिए । उनले प्रदेश समितिलाई आफूले सक्दो सहयोग गर्ने वचन व्यक्त गरे । त्यस्तै प्रदेश ३ का सांसद तथा मनोनित उपाध्यक्ष विराजभक्त श्रेष्ठले नेपालको राजनीतिले नेपाल तेक्वान्दो संघ वागमती प्रदेशबाट सहमति र सहकार्य कस्तो हुन्छ सिक्नुपर्ने बताए ।

प्रदेशका नवनिर्वाचित अध्यक्ष पुरीले तेक्वान्दोको विकासमा सबैले सहयोग गरेको भन्दै धन्यवाद दिए । खेलकुद मन्त्रीले राष्ट्रिय खेलकुद परिषदका कर्मचारीलाई कार्यक्रममा जान रोक लगाएर विभेद गरेको पुरीले बताए । ‘हाम्रो कार्यक्रममा कोही पनि परिषदका कर्मचारी र पत्रकारलाई समेत जान रोक लगाइयो । तेक्वान्दो खेलको कुनैपनि कार्यक्रममा जान नदिने भनिएको छ । त्यस्तो पनि मान्न जरुरी छ र ?’ प्रश्न गर्दै उनले भने,‘यत्रो कार्यक्रममा परिषदले एउटा शुभकामना समेत पठाएन । उनीहरुले चाहेर यो कार्यक्रम रोकिँदैन । पुरीका अनुसार वागमती प्रदेशको तेक्वान्दो कभर्ड हल निर्माणका लागि नगार्जुन नगरपालिकाले ९ रोपनी ९ आना जग्गा उपलब्ध गराएको छ । कार्यक्रममा बागमती प्रदेश संघको कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएका मेयर मोहनबहादुर बस्नेत र सोही नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीलाई सम्मान गरिएको थियो।

यसैगरी हेटौडा नगरपालिका, समाजसेवी यज्ञलाल श्रेष्ठ र धननारायण चित्रकारलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा नेपालमा तेक्वान्दोका संस्थापक दीपराज गुरुङलाई अभिनन्दन गरिएको थियो।

यसैगरी बागमती प्रदेशअन्तर्गत रहेका नवनिर्वाचित १३ वटै जिल्ला अध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो। यस्तै १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडीलाई पनि सम्मान गरिएको थियो। यस्तै बागमती प्रदेशमा उत्कृष्ट हुन सफल काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, चितवनका गोपाल श्रेष्ठ र मकवानपुरका निरुकुमारी मगरलाई पनि सम्मान गरिएको थियो।

सम्बन्धित खबर