हरिबोधनी एकादशी :नेवा: समुदायमा आजको दिन भात खान नहुने

- फ्र्यांकी फ्रान्ज  

हरिबोधनी एकादशी/ तधं एकादशी /ठूलो एकादशी के हो ?
हरेक वर्ष कार्तिक शुक्ल एकादशी तथा कछलाथ्व एकादशीको तिथिलाई हरिबोधनी एकादशीको नामले चिनिन्छ। जनबोलीमा ठूलो एकादशी तथा देवउठनी एकादशीको नामले चिनिने यस दिनलाई नारायण भगवानलाई उठाउने दिनको रूपमा चिनिन्छ। हरिशयनी एकादशीको दिन क्षीर सागरमा विश्राम गर्नुभएको श्री हरिलाई आजको दिन जगाउने गरिन्छ भने यो ४ महिनाको अवधिलाई चतुर्मास व्रत भनिन्छ। यस दिनलाई नेवा: समुदायले तधं एकादशीको नामले चिन्दछन्।
के गरिन्छ ?
आजको दिन विशेष गरी नारायण मन्दिरहरूमा पूजा गर्ने गरिन्छ भने, स्नान, तर्पण, दान आदि गरेमा पुण्य भई राम्रो फल प्राप्त हुने जनविश्वास रहेको पाइन्छ। हरिशयनी एकादशीको दिन रोपेको तुलसीलाई आज विशेष पूजा गरी, शालिग्रामसँग विवाह गराइ तुलसी विवाह पनि मनाउने गरिन्छ।यसै कारण यसलाई तुलसी एकादशी पनि भनिन्छ।
नेवा: समुदायमा भने आजको दिन ग्वार्चा (पीठोबाट बनाइने विशेष परिकार) तथा खीर खाने गरिन्छ भने भात खान नहुने मान्यता रहेको पाइन्छ। आजको दिन नेवा: हरू उपत्यकाको ४ नारायण, चाँगु, इचंगु, विशंखु र शेषनारायणको यात्रा गरी दर्शन गर्ने गर्दछन्। यसलाई नारायण यात्रा तथा पर्व यात्रा भनी विभिन्न ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ। आज ४ नारायणमा मेला लाग्ने गर्दछ भने नारायणको प्रिय महिना मानिने कार्तिक महिनाको व्रत बसेकाहरूले आज अन्त्य गर्ने गर्दछन्। ४ नारायण यात्रा गर्न नसक्नेहरूले भने काठमाडौँको भित्री सहरमा रहेको वन्दे नारायण, अट्कोनारायण, इखा नारायण र ह्युमत नारायण गरी ४ नारायण दर्शन गर्ने गर्छन्।
नेवा: एउटा मात्र मतको नभई सभ्यता भएको कारण भिन्न भिन्न पारम्परिक मतहरू तथा सम्प्रदाय रहेको पाइन्छ। साधरणतया उपत्यकामा नेवा:हरुले मठ बनाई तुलसी रोपी पूजा गर्ने गर्दैनन् , तर वैष्णव सम्प्रदायले भने आजको दिन तुलसी पूजा गर्ने गर्दछन्
जनविश्वासका कुरा :
जनश्रुतिका अनुसार, असार महिनामा पर्ने एकादशीमा नारायण समुद्रमा निद्राको लागि जाने गर्छन् र १ दिन विश्राम गरी उठ्ने गर्छन्। वैकुण्ठ लोकको त्यो एक दिन पृथ्वीमा ४महिना हुने कारण ४ महिनापछि उठ्ने गर्छन् भन्ने गरिन्छ। यसै गरी आजको दिन नारायण उठ्ने नभई, विभिन्न पूजा आज, भजन कीर्तन गरी झक्झकाउने अर्थात् निद्राबाट बिउँझाउने गरिन्छ। त्यसपछि चौथो दिन अर्थात् अब आउने वैकुण्ठ चतुर्दशीका दिन नारायण उठ्ने विश्वास गरिन्छ। वैकुण्ठ चतुर्दशीको दिन श्री हरीलाई पञ्चामृतले महास्नान गराउने परम्परा पनि रहेको पाइन्छ।

सम्बन्धित खबर