माया लुहार हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

दियो पोस्ट  

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रवक्ता भरत जेसिले दियोपोस्टलाई जानकारी दिए । मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते नेहाले दिएको वयानका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ ।