काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति समूह चरणका खेल सकिएका छन्। नकआउट चरणमा जाने २६ टोलीको टुंगो लागको छ। यसर्थ, आजैदखि नकआउट चरण अर्थात प्रि–क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । पहिलो खेलमा आज नेदरल्याण्ड्स र अमेरिका भिड्दैछन् । समूह चरणमा यी दुवै टोली अपराजित रहेका थिए । नेदरल्याण्ड्स समूह ‘ए’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । उसले सेनेगल रआयोजक कतारलाई समान २–० गोल अन्तरले हराएको थियो भने इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको थियो ।
यस्तै, अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा इरानलाई १–० ले स्तब्ध बनाएर अमेरिका समूह ‘बी’को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । यी दुई टोली अहिलेसम्म ५ पटक आमने–सामने गरेका छन् । र, ती सबै भेट मैत्रीपूर्ण खेलका हुन् । नेदरल्याण्ड्सले ४ जित निकाल्दा अमेरिकाले १ पटकमात्र नतिजा आफ्नो पक्षमा पारेको छ ।
अन्तिम पटक सन् २०१६ मा भेट हुँदा अमेरिकाले ४–३ को जित दर्ता गरेको थियो । आज राति यी दुई टोली भिड्दैगर्दा पछिल्लो समयमा लयमा रहेको युरोपियन टिम नेदरल्याण्ड्सको पल्ला भारी हुने अनुमान गरिएको छ । यद्यपि, इंग्ल्याण्डजस्तो बलियो टोलीलाई बराबरीमा रोकेपछि अमेरिकाको मनोबल बढेको छ । यसर्थ, यी दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ । शनिबार मध्यराति अन्तिम १६ को दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलिया भिड्दैछन् ।