पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम लापरबाही : उडान नहुँदै भत्किन थालेको खुलाशा (तस्विरसहित)

- दियोपोस्ट  

पोखरा । निर्माण सम्पन्न भएर परिक्षण उडानको क्रममा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा चरम लापरबाही भएको पाइएको छ ।

२२ अर्बभन्दा बढी नेपाली रुपैयाँ निर्माण सम्पन्न भएको उक्त विमानस्थल निर्माणमा चीनिया पक्षले चरम लापरबाही गरेको पाइएको हो ।

परिक्षण उडानको क्रममा रहेको विमानस्थलका टर्मिनल भवनका सिढिहरु भत्किन थालेको छ ।

चीनको सिएएमसी ईन्जिनियरिङ कम्पनिले निर्माण गरेको पोखरा क्षेत्रिय विमानस्थलकै अनुगमनमा रहेको एक पूर्वविज्ञले भवनहरुमा अन्त्राष्ट्रिय विमानस्थल निर्माणको मापदण्ड समेत पालना नगरेको जानकारी दिए । ‘यो विमानस्थल निर्माणमा फेडरल एभिएसन एडमिनिस्ट्रेशनले निर्धारण गरेको कुनै पनि मापदण्ड पालना गरिएको छैन ।

विमानस्थलका भौतिक संरचनाको आयु न्युनतम २० देखि ४० वर्षसम्म रहन्छ,’ उनले भने,‘यहाँ त विमानस्थलमा उडान शुरु नहुँदै टर्मिनल बिल्डिङहरुका केही भाग फ्यास फ्यास जान थालेको छ । यो कस्तो निर्माण भएको छ भनेर नेपाल सरकारले हेर्न मिल्दैन । किनकी विमानस्थल निर्माणको अनुगमन गर्न भनेर नेपाल सरकारकै आग्रहमा चीनियाँ कम्पनि आइपिपिआरले गरिरहेको छ । जसले काम नै नगरी नेपाल सरकारबाट २५ करोड रुपैयाँ लिएर गइसकेको छ ।’

 


विमानस्थल निर्माणमा भएको लापरबाहीलाई लिएर एक चिनियाँ सुपरभाइजरले त नेपालस्थित चिनियाँ राजदूतावासमा उजुरी समेत दिएका छन् । हाल राजदूत नरहेको र कन्सुलरको भरमा रहेको दूतावासले छानबीन गर्ने सुचना त दिएका छन् । तर, हालसम्म कुनै छानबीन भएको छैन ।

ती नागरिकका अनुसार विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणमा निर्माण पक्षले चरम लापरबाही गरेको छ । ‘टर्मिनल बिल्डिङमा कन्क्रिट प्रयोग गर्नुपर्ने हो । तर, सामान्य घर निर्माण गर्दा प्रयोग गरिने गिटी बालुवा घोलेर हालिएको छ,’ उनले भने,‘कुनै पनि हिसाबले यहाँको विमानस्थल निर्माण मापदण्ड अनुसार छैन ।’

त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने मजदूरलाई सामान्य जस्ताको टहरामा राखेर अमानविय व्यवहार गरेको समेत उनले बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने मजदुरलाई अमानविय हिसाबले कुकुराको खोर जस्तो जस्ताको टहरामा राखिएको छ,’ उनले भने,‘यो भन्दा ठूलो अमानविय व्यवहार के हुनसक्छ ।’

उनका अनुसार विमानस्थल निर्माणका क्रममा गुणस्तरहिन पाइपहरु लापरबाहीपूर्ण तरिकाले प्रयोग गरिएको छ ।

पोखरा क्षत्रिय विमानस्थल निर्माणमा भएको लापरबाहीको विषयमा प्रश्न गर्न नागरिक उडयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलालाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । प्राधिकरणको वेभसाइटमा रहेको नम्बरमा बुधबार दिउँसो साढे ३ बजे फोन गर्दा उनी कार्यालय समय सकिएको भन्दै कार्यालयमै नरहेको जानकारी आयो ।

त्यस्तै पोखरा क्षेत्रिय विमानस्थल प्रमुख रहेका विनेश मुनकर्मीले आफ कार्यालय बाहिर रहेको भन्दै बोल्न चाहेनन् ।