पोखरा विमानस्थलमा चीनियाँ कम्पनीको बद्मासी : फोहोरबाट विद्युत निकाल्ने ‘स्टेशन गायब’ !

सुदीप विश्वकर्मा  

काठमाडौं । आगामी पुस २७ गतेदेखि नियमित उडानको तयारीमा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम लापरबाही भएको विषयमा दियोपोस्ट डटकमले नियमित फलोअप गर्दै आएको छ ।

चीनको एक्जिम बैंकको ऋण र चीनकै वाणिज्य मन्त्रालयको अनुदान सहयोगमा करिब २२ अर्ब भन्दाबढी लगानीमा निर्माण भएको भनिएको उक्त विमानस्थलमा सम्झौता अनुसारको संरचना नै नबनेको पाइएको छ ।
चीनकै निर्माण कम्पनी चीन सिएएमसी ईन्जिनरिङले निर्माण गरि नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको विमानस्थलमा सम्झौता अनुसार ‘वेस्ट बर्निङ स्टेशन’ निर्माण हुनुपर्ने हो । विमानस्थलबाट निस्कने फोहोरलाई एक ठाउँमा जम्मा गरि जलाएर विद्युत उत्पादन गर्ने लक्षसहित ‘वेस्ट बर्निङ स्टेशन’ निर्माण गर्नुपर्ने सम्झौतामै उल्लेख छ । जसका लागि ३ लाख ५६ हजार डलर अर्थात पौने ५ करोड लगानीमा सोलिड वेस्ट म्यानेजमेन्ट सिस्टम स्थापना गर्ने सम्झौतामा उल्लेख छ ।
चीन सरकारले स्थापना गरेको अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डमा पनि वेस्ट बर्निङ स्टेशन हुनुपर्ने एक चिनिया अधिकारी बताउँछन् । तर चीनको एक्जिम बैंक, नेपाल नागरिक उडयन प्राधिकरण, अर्थ मन्त्रालय तथा नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल र पोखरेली जनतालाई गुमराहमा राखेको ती चिनियाँ नागरिक बताउँछन् ।

फोहोर व्यवस्थापन बिना नै विमानस्थल संचालन भए सफा र सुन्दर रहेको पोखरा सहर केही वर्षभित्रै फोहोरको डंगुरका परिणत हुने ती नागरिकको भनाई छ । ‘अहिले त यो विषयलाई गुमराहमा राखेर विमानस्थल निर्माण सम्पन्न भएको भनिएको छ । तर, नेपाली नागरिक र विशेषगरि पोखरा शहरले यो विषयमा कुनै चासो राखेन भने यसले पक्कै पनि ठूलो दुर्घटना निम्त्याउने छ । किनकी अन्तर्राष्ट्रिय विमानस्थलबाट निष्कने फोहोरको व्यवस्थापन गर्न सबै जसो देशले वेस्ट बर्निङ स्टेशन निर्माण गरेका हुन्छन् । यो निर्माण नभएसम्म विमानस्थलले मापदण्ड पुरा गरेको मानिने छैन् ।’

पोखरा क्षत्रिय विमानस्थलमा कार्यरत एक चीनियाँ सुपरभाइजरका अनुसार वेस्ट बर्निङ स्टेशन तीन करोड नेपाली जनताका लागि नयाँ र पहिलो हो । उक्त स्टेशन निर्माणमा चीनकै सिएएमसी, सुपरभिजनका लागि खटिएको आइपिपिआर र नेपाल सरकारको मिलेमतोमा अवरोध खडा गरेका थिए ।

नागरिक उडयन प्राधिकरण र सिएएमसीबीच वेस्ट बर्निङ स्टेशनमा ईन्सिनरेटर, प्लेटफर्म र आवश्यक कन्टेनरसहितको सुविधा हुनुपर्ने उल्लेख छ । नेपालकै पहिलो फोहोर जलाउने स्टेशन भनिएको यो प्रविधिबारे नेपालीलाई खासै जानकारी नभएको कारण नेपाल सरकार र चीनको सिएएमसीले गुमराहमा राखेको ती चिनियाँ नागरिकको दाबी छ । ‘पक्कै पनि नेपाली जनता प्रविधिका बारेमा बुझ्दैछन् । प्रविधिको महत्वबारे विश्वका अन्य देशका नागरिकहरु धेरै नै सचेत छन् । जहाँ जहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेका छन् त्यहाँ फोहोर जलाउने र विद्युत उत्पादन गर्ने स्टेशन बनेकै हुन्छ । अन्यथा त्यहाँका नागरिकले विरोध गर्नेछन्,’ प्राविधिक क्षेत्रमा विज्ञता हासिल गरेका ती नागरिक भन्छन्,‘नेपाली जनताको प्रविधि प्रतिको बुझाई कम भएकै कारण चीनको सिएएमसी र नेपाल सरकारले फोहोर जलाउने स्टेशनलाई फोहोर ट्रान्जिट (दुई वटा फोहोर उठाउने कन्टेनरसहितको सानो भवन)मा बदलीरहेका छन् ।
उनको यो भनाईलाई पोखरा स्थित पोखरा क्षेत्रिय विमानस्थलको प्रमुख रहेका विनेश मुनकर्मीले पुष्टि गरे । ‘हामीले सम्झौतामा केही परिवर्तन गरेर फोहोरलाई ट्रान्जिट स्टेशन बनाएका छौँ,’ उनले भने,‘यसमा चीनको सिएएमसी र नेपाल सरकार दुवै सहमत छ ।’

ति विज्ञका अनुसार यो परियोजना निर्माण भएपछि पनि चीनको एक्जिम बैंक, वाणिज्य मन्त्रालय र नेपालको अर्थमन्त्रालय तथा नागरिक उडयन प्राधिकरणले पुन मुल्यांकन गर्न सक्छ । यदि आयोजनामा कुनै पनि लापरबाही भए पुन अनुगमन गर्ने अधिकार सबै पक्षलाई छ ।

‘पहिलो फोहोर जलाउने स्टेशन निर्माण गर्ने जिम्मेवारी सिएएमसीलाई छ । तर, उसले त नेपाल सरकारलाई बेवकुफ बनाइरहेको छ । उसैको ईशारामा नेपाल सरकार नाचिरहेको छ,’ ती नागरिकले भने ।
यस विषयमा प्रतिक्रिया लिन नेपालस्थित चिनियाँ दूतावासमा पटक पटक सम्पर्क गर्दा पनि उनीहरु सम्पर्कमै आउन चाहेनन् । यद्धपी हामीले ईमेल मार्फत उनीहरुको धारणा माग गरेका छौँ । यदि दूतावासले आफ्नो प्रतिक्रिया उपलब्ध गराए हामी त्यसलाई पनि स्थान दिनेछौँ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले यस विषयमा महानगरपालिकालाई कुनै पनि जानकारी नभएको बताए । ‘तपाईंले गम्भिर विषय उठाउनु भयो । हामीलाई यो विषयमा जानकारी आएको छैन । यो महानगरपालिकको पनि कन्सर्नको विषय हो । म मेयर सापलाई जाहेर गर्नेछु,’ उनले भने ।