काठमाडौं । तारकेश्वरकी ९० वर्षीया डिल्ली पुतुवारको उनकै छिमेकीले हत्या गरेको खुलेको छ । प्रहरीले हत्यामा संलग्न ३९ वर्षका नरेन्द्र शिवभक्तीलाई पक्राउ गरेको छ ।
नरेन्द्रले पुतुवारसँग भएको रकमको लोभमा उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । पुतुवारको पारिवन पाखाको जंगलमा २२ मंसिरमा शव भेटिएको थियो ।
चिसापानी चप्पल कारखानामा राहत लिन जाने क्रममा जंगलको बाटोमा चुरोट खान रोकिएको मौका छोपेर ढुङ्गाले टाउको र गर्धनमा हिर्काएर पुतुवारको हत्या गरेको नरेन्द्रले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुतुवारले पटुकीमा ५० हजार रुपैयाँ राखेको थाहा पाएपछि सोही रकमको लोभमा नरेन्द्रले उनको हत्या गरेका हुन् ।
हत्यापछि शव खोल्सामा लुकाएर फरार रहेका नरेन्द्रलाई प्रहरीले बिहीबार तारकेश्वर– ६ पुशलबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीको कमाण्डमा खटिएको टोलीले उनलाई पक्रेको हो ।