धादिङमा सहकारीको आवरणमा घरजग्गा खाने ‘गिरोह’ : किर्ते गरेर करोडको जग्गा कब्जा !

- ईश्वर विश्वकर्मा  

धादिङ । जिल्लाको निलकण्ठ नगरपालिका ३ बिचबजारमा रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले एक किसानलाई घरबारविहिन बनाएर रुवाबासी बनाएको खुलाशा भएको छ । सहकारीका पूर्वअध्यक्ष प्रदिप अधिकारी, तत्कालिन कोषाध्यक्ष तथा हालका अध्यक्ष रुद्र बहादुर खत्री, निलकण्ठ ७ का वडाध्यक्ष गौतमहरि अधिकारी लगायत ‘गिरोह’ले स्थानिय किसान मोघराज पोखरेलको जग्गा र गाडी गैरकानुनी रुपमा कब्जा गरेको खुलेको छ । झण्डै ८० लाख रुपैयाँ पर्ने ११ रोपनी जग्गा र २१ लाख पर्ने गाडी विभिन्न किर्ते कागजात खडा गरेर हत्याएपछि पीडित बनेका पोखरेल दियोपोस्टको सम्पर्कमा आएका छन् । दियोपोस्टलाई दिएको बयान अनुसार उनले उक्त सहकारीबाट ३५ लाख रुपैयाँ ऋण लिएका थिए । लिएका ऋण मध्ये ३२ लाख ३८ हजार तिरिसक्दा पनि ऋणीलाई थाहा नै नदिई विभिन्न किर्ते कागजात तयार पारेर जग्गा र गाडी लिलाम गरिएको हो ।

जग्गा लिलामीका लागि जिल्ला स्थित प्रशासन कार्यालय, मालपोत र निलकण्ठकै ७ नम्बर वडा कार्यालयको समेत मिलेमतो रहेको पीडितको गुनासो छ ।

दियोपोस्टकर्मीसँग पीडित मेघराज पोखरेलले दिएको घटना विवरण जस्ताको तस्तै :

मेरो नाम मेघराज पोखरेल हो । धादिङको निलकण्ठ नगरापालिका वडा नं. ७ तारुखर्कमा मैले कृषि पेशा गर्दै आएको छु । ११ वर्षअघि मैले सातमुले कृषि तथा पशुपालन फर्म संचालन गरेको छु । सय भन्दा बढी बाख्रा, २० भन्दा बढी गाईभैसी र २ हजार भन्दा कुखुरा थिए । २०७५ साल असोजबाट मंसिरसम्ममा मैले धादिङवेशीस्थित स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाबाट ३५ लाख ३३ हजार रुपैयाँ ऋण लिएँ । जसमा महिन्द्रा कम्पनिको बोलेरो सिंगल क्याभका लागि १५ लाख रुपैयाँ, जग्गा राखेर हाउजिङ लोन शिर्षकमा १५ लाख र श्रीमतीका नाममा ५ लाख रुपैयाँ चाहिँ कृषि लोन शिर्षकमा थियो ।

 

कृषि फार्मका लागि आवश्यक पर्ने दानाहरु बोक्न र त्यहाँबाट उत्पादित अण्डा बोक्नका लागि बोलेरो गाडी खरिद गरेको थिएँ । जसका लागि मैले ७ लाख रुपैयाँ डाउन पेमेन्ट गरेको थिएँ । १५ लाख रुपैयाँ सहकारीबाट ऋण लिएको थिएँ । ब्याजदर फरक फरक थियो । कतै ११ कतै १३ प्रतिशत थियो । कुनैमा १५.६ पनि ब्यादजर थियो । त्यसपछि मैले नियमित रुपमा किस्ता तिर्दै आएँ ।

एक वर्षसम्म किस्ता तिरिसकेको थिएँ । त्यसलगत्तै मुलुकमा कोरोना महामारी शुरु भयो । फर्मबाट उत्पादन भएका कुनैपनि सामग्री बेचविखन नहुने अवस्था आयो । घरबाट निस्कन समेत सरकारले प्रतिबन्ध लगाएको अवस्थामा विक्री हुने त कुरै आएन । त्यसबीचमा मैले किस्ता तिर्न सकिनँ । कोरोना महामारीकै बीचमा ४० लाख रुपैयाँ भन्दा बढीको कुखरा मरेर गए । सहकारीले त्यहीबीचमा मैले गरिखान किनेको गाडी गणेश कुमार श्रेष्ठ नाम गरेका व्यक्ति मार्फत कब्जा गरियो । गाडी लिएको केही समयमै कब्जा गरिएको हुनाले गाडीबाट कुनै कमाई हुन समेत सकेनँ । मैले गाडीको किस्ता नियमित तिरेको थिएँ । तर, गाडी नै कब्जा गरेपछि मैले नियमित किस्ता तिर्ने त कुरै भएन । त्यसपछि मैले तिरेको छैन । सहकारीले गणेश कुमार श्रेष्ठ लगायत व्यक्तिहरु परिचालन गरेर मलाई खेद्न थाल्यो । धादिङको जुनसुकै ठाउँमा गएर सोधेपनि मेरो किसान कर्मको बारे थाहा नपाउने कोही छैन । ती संरचना मैले कुनै सहकारी वा बैंकलाई झुक्याउन बनाएको होइन । अर्को कुरा सहकारीमा मैले झण्डै ९० लाख रुपैयाँ भन्दा बढी मुल्य पर्ने जग्गा धितो राखेको छु । सहकारीले त्यही संरचना र ११ रोपनी भन्दा बढी जग्गा खाने नियतले मलाई खेद्न थाल्यो । त्यही संरचना माथिनै आखा लगाएर उनीहरुले मलाई तहस नहस बनाउने प्रपञ्च रचे ।

त्यसपछि उनीहरुले ३५ दिने सुचना निकाले । त्यो सुचना मैले लिएँ । म धादिङको मान्छे हुँ । तर, उनीहरुले नुवाकोटबाट प्रकाशित हुने उत्तरगया राष्ट्रिय दैनिकमा सुचना निकालेका थिए ।

मेरो सामाजिक प्रतिष्ठामा आँच पुर्याउने नियतले मेरा आफन्तहरु ८/१० जनाको घरमा समेत त्यो पत्रिका पुर्याइएछ । मैले पत्रिका बुझेपछि म निरन्तर रुपमा छलफलमा लागेँ । कहिले १ लाख रुपैयाँ दिएपनि तपाई ७५ सालसम्मको ऋण चलाउन पाउनुहुन्छ भन्थे । २०७८ अशोज ५ गते पत्रिकाले निकालेको ३५ दिने म्याद सकियो । त्यो दिन म सहकारीमै गर्दा छलफल गर्दा १ लाख, २ लाख ३ लाख तिर्दा हुन्छ ? भन्दा उहाँहरुले १० लाख रुपैयाँ तिरेदेखि तपाईको डिउ र सावाँ घटाईन्छ भन्थे । त्यही असोज ११ गते लगेर तिनैवटा लोनको १० लाख रुपैयाँ तिरे । तर त्यो १० लाख रुपैयाँ हातमा परिसेपछि उहाँहरुले सावाँका व्याज र जरिवाना कटाउनु भएछ । जबकी राष्ट्र बैंकले कोरोनाकालमा बसैलाई पनि जरिवाना लिन प्रतिबन्ध लगाएको थियो । तैपनि त्यति तिरेपछि मैले राहत महशुस गरेको थिएँ । किनभने हाम्रो सम्झौता २०८५ सालसम्म ऋण चुक्ता गर्ने थियो । म गरेरै खाने मान्छे हुँ भनेर सहकारीबाट निस्किएँ । तर, सहकारी भने म विरुद्ध लागि नै रहयो । किनकी उनीहरुलाई मैले त्यति तिरेपछि मेरो गाडी फिर्ता दिनु पर्थ्यो । गाडी किन समातेको भनेर कानुनी निकायमा जान्छकी भनेर उनीहरुले मलाई अन्याय गर्ने संगठीत कोशिस गरे । यतिसम्म थियो की त्यो गाडी लगेर स्रोत परिचालन सहकारीका तत्कालिन अध्यक्ष प्रदिप अधिकारीको घरमा राखिएको थियो ।

मैले त्यो दिनदेखि देखेको÷चलाउन पाएको पनि छैन । मैले फेरी कार्तिक ९ गते चाहीँ १३ लाख १० हजार रुपैयाँ तिरेँ । सबै गरेर मैले २ महिनामै २३ लाख रुपैयाँ तिरेको स्टेटमेन्ट समेत छ । पहिलो कोरोनाकाल अघि नै नियमित किस्ता ब्याज गरेर ९ लाख ६८ हजार रुपैयाँ तिरेको रहेछु । जब म अब बाँकी पैसा मंसिरमा फेरी तिर्न जान्छु भन्दा त्यतिबेला त मेरो जग्गा लिलाम गरेर सहकारीले आफ्नै नाममा लगिसकेको रहेछ । मैले जम्मा लिएको ३५ लाख मध्ये ३२ लाख ६८ हजार रुपैयाँ बुझाएको रहेछु । त्यसमा मेरो शेयरबापतको २ लाख रुपैयाँ त अझै बचत रहेछ । त्यसको ब्याज पनि मैले पाउनुपर्ने होला । त्यसरी २ महिना पैसा तिर्दै जाँदा त मेरो जग्गा लिलाम हुन्छ भन्ने त सपनामा पनि सोचेको थिइनँ । यसरी जग्गा लिलाम भएको खबर थाहा पाएपछि मैले कागजात माग गरेँ । तर, उहाँहरुले मलाई झुलाउनु भयो । गत साउन २२ गते चाही जिल्ला प्रशासन कार्यालयमा सहाकरीले लिलाम गरेको जग्गाको प्रतिलिपि पाउँ भनि निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले स्रोत परिचालन सहकारी संस्थालाई र मालपोतलाई चिठी लेखेपछि बल्ल भदौ ४ गते केही कागज पत्र मैले पाएँ ।

कागजात हेर्दा म छक्क परेँ । यो दुनियाँमा कानुन भन्ने रहेनछ भन्ने लाग्यो । मैले दुई महिनामा २३ लाख रुपैयाँ तिर्दा तिर्दै पनि पैसा तिरेकै छैन भनेर टिप्पणी उठाइएको रहेछ मालपोतमा । मैले तिरेको रसित र रकेर्ड छ । अशोज ५ गते मैले २३ लाख रुपैयाँ बुझाएको छु । तर, ६ गते नै मेरो जग्गा लिलामीको सुचना निकालिएको छ । ६ गते उठाइएको टिप्पणीमा सम्बन्धित व्यक्तिलाई, ३५ दिने १५ दिने, ७ दिने सुचना दिइएको भनेर टिप्पणी उठाइएको छ । ३५ दिन अशोज ५ गते पुगेको छ भने ६ गते नै दुवै मितिमा १५ दिने र ७ दिने सुचना कसरी निस्कन्छ होला ? त्यो पत्रिका ल्याउ भन्दा अहिलेसम्म दिन सकेको छैन । नागरिक राष्ट्रिय दैनिकमा निकालेको भन्ने उल्लेख छ । तर, त्यो पत्रिका मालपोतले दिन सकेको छैन । अर्को कुरा ७८ सालमा मालपोतबाट श्रोत परिचालन सहकारीको नाममा जग्गा लाँदै गर्दा ७५ सालमै मेरी श्रीमती सावित्री पोखरेलले गिरिराज अधिकारीबाट २५ लाखमा किनेको त्यही तमसुक प्रयोग गरिएको भनिएको छ । ७५ सालमा किनेको एउटा तमशुकले फेरी ५१ लाखको जग्गा विक्री गर्न पाइन्छकी पाइँदैन ? मलाई ऋण दिँदा १५ लाखको भ्यालुएशन गरेर दिएको हो ।

 

लिलाम गर्दा ५१ लाख रुपैयाँमा गरिएको छ । ३५ लाख मैले ऋण लिएको हुँ । ३२ लाख ६८ हजार मैले तिरेको छु । अहिलेसम्म मैले तिर्नुपर्ने कति हो भनेर पटक पटक निवेदन हालेको छु । तर, दिएका छैनन् । उनीहरु निष्कर्श निकाल्नुपर्छ भन्छन् मात्रै । ५१ लाख रुपैयाँ तिर्ने गरि कसरी सहमति हुनसक्छ ? मैले जे कुरा बोलिरहेको छु त्यो गलत भए म कारबाही भोग्नुपर्छ । उनीहरुले हरेक कागजमा किर्ते गरेर ठगी गरेका छन् । चार वर्षअघिदेखिको गाडी उनीहरुले नै थोत्रो बनाएर राखेका छन् ।

म महिले पीडामा छु । लिलाम गरेपछि पनि मैले जरिवाना तिरिरहनुपर्छ भन्नु हुन्छ । यो दुनियाँमा कहाँको नियम होला यस्तो । कित मसँग पैसा लिनु हुँदैन । पैसा लिएपछि किन थाह नै नदिई लिलामी गरियो ? अहिले मसँग बार्गेनिङ गर्दैछन् । कहिले चालिस लाख, कहिले ५० लाख भन्छन् । त्यहाँका व्यवस्थापक दयानिधि नेपाल, अध्यक्ष रुद्र बहादुर खत्री लगायत मिलेर बार्गेनिङ गर्दैछन् । पूर्वअध्यक्ष प्रदिप अधिकारीले त हुने नहुने सबै काम गरेका हुन् । मलाई धरासायी बनाएर मेरो व्यावसाय नै कब्जा गर्ने हिसाबले प्रदिप अधिकारीले काम गरे । मलाई १ करोड रुपैयाँ भन्दा बढीमा फसाएर मलाई ठग्ने नियत रहेछ । बाँकी रहेको २२÷२५ रोपनीमा बनेको फर्म कब्जा गर्ने रणनीतिमा स्रोत परिचालन सहकारीले गरेको छ । अहिले मेरो दुर्गती उनीहरुले नै गर्दा भएको हो । किन भने मसँग ३ सयभन्दा बढी बाख्रा पाल्ने खोर छ, २ हजार भन्दा बढी लेस कुखुरा, २० वटाभन्दा बढी गाइँभैँसी पाल्ने टहरा छन् । सहकारीको ज्यादती विरुद्ध लड्न सकेँ भने म अझैपनि १० वर्ष कृषि व्यावसायमै लाग्न सक्छु । मैले त्यहाँ धेरै दुख गरेको छु । कानुनी रुपमा लड्न जाँदैछु । तर, मेरो पहुँच छैन । त्यहाँबाट प्रतिलिपी लिन मात्रै मलाई ६ महिना लाग्यो ।

मालपोतमा गयो सहकारी जाउ भन्छ, सहकारीमा गायो मालपोत जाउ भन्छ । यसरी मलाई ६ महिना घुमाईयो । म किसानमाथि सहकारीले ठगी गरेको छ । मैले ठगी मुद्दा हाल्नुपर्छ । किर्ते कागजात तयार पारेका छन् । किर्तेमा पनि मुद्दा हाल्छु । वडाअध्यक्ष समेत यो काण्डमा संलग्न छन् । जग्गाको मुल्यांकनमा वडाबासीको तर्फबाट भनेर वडाध्यक्ष गौतमहरि अधिकारी एक्लैले हस्ताक्षर गरेका छन् । मालापोतको टिप्पणीमा ७५ लाखकै लिखितले हामीले ७८ सालमा ५१ लाखमा जग्गा पास गरियो भनिएको छ । स्रोत परिचालनले तयार पारेको सबै माइन्युट दुई नम्बरी छ । मैले अशोज र कार्तिकमा बुझाएको २३ लाख रुपैयाँको रसिद नै लुकाएर मालपोतमा टिप्पणी उठाइएको छ । मालपोतको धननारयाण तामाङ भन्ने व्यक्तिले हस्ताक्षर गरिएको छ । एक वचन पनि मैले पैसा तिरेको विषयमा कुनै सोधपुछ गरेको छैन । जिल्ला प्रशासनकै अधिकारी होम बहादुर विकले पनि हस्ताक्षर गरेको छ । यो फाइल हेर्दा किर्ते र अपराध गरेको देखिएन भने म कारबाही भोग्न तयार छु ।

 

पीडितको भिडियो बयान

अपडेट :

यसैबीच सहकारीका अध्यक्ष रुद्र बहादुर खत्रीले समाचारको खण्डन छिटै गर्ने बताएका छन् । उनका अनुसार ऋणी पोखरेल र सहकारीबीच वार्ता समेत भएको थियो । माओवादीकै उच्च तहका नेता मार्फत वार्ता भएको खत्रीले बताए ।

 

अपडेट :

समाचारको भत्र्सना गर्दछौँ : सहकारी

यसैबीच सहकारीका महासचिव नवराज पाठकले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले दियोपोस्टको आधिकारीक ईमेलमा प्रेसित गरेको खण्डन यस्तो छ ।

प्रेस विज्ञप्ती
२०८० मंसिर १५ गते काठमाडौंबाट प्रकाशित हुने दियोपोष्ट नामक अनलाइन संचारमाध्ययमा ‘धादिङमा सहकारीको आवरणमा घरजग्गा खाने गिरोह ः किर्ते गरेर करोडको जग्गा कब्जा’ शीर्षकमा प्रकाशित समाचारप्रति यस सहकारीको गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनैपनि विवादित कुराहरुको समाचार बनाउदा दुवै पक्षको कुरा राख्ने संचारको सर्वमान्य सिद्धान्तलाइ ख्यालै नगरी एकपक्षीय, कपोलकल्पित, भ्रामक तथा सहकारी र संचालकहरुलाई बदनाम गर्ने कुनियतका साथ प्रकाशित समाचारको हामी कडा शब्दमा भत्र्सना गर्दछौँ र समाचारको खण्डन गर्दछाँै ।
समाचार प्रकाशित गर्नुपुर्व सहकारीका संचालकहरु कसैसँग पनि यस विषयमा सोधपुछ नगरिएको र कार्यालयबाट समेत कुनै पनि जानकारी नलिनुले संचार माध्ययकै नियतमाथि हामीलाई शंका पैदा भएको छ ।
समाचारमा उल्लेख भएअनुसार सहकारीका वर्तमान अध्यक्ष रुद्र बहादुर खत्री, निवर्तमान अध्यक्ष प्रदीप अधिकारी र वडा अध्यक्ष गौतमहरि अधिकारीको फोटो समेत राखी जग्गा कब्जा गर्ने गिरोह शब्द उल्लेख गरिएको प्रति खेद ब्यक्त गर्न चाहान्छौं ।
सहकारीले आफ्नो निति नियममा रहेर लगानी गरेको ऋणको असुलीका लागि गरिएको नियमित प्रक्रियालाई अतिरन्जित गरी करोडको जग्गा कब्जा गरेको भन्ने आरोप निराधार रहेको, समाचारमा कुनैपनि सत्यता नरहेको र यस्तो भ्रममा नपर्न सवै शेयर सदस्य, शुभचिन्तक र आम धादिङबासीमा अनुरोध गर्दछौँ ।
साथै कर्तब्य पालनाको शिलशिलामा काम गर्नुभएका नेपाल सरकारका विभिन्न पद र ओहोदामा रहनुभएका कर्मचारीहरु र जनप्रतिनिधिहरुको समेत बदनाम हुने गरि गरिएको प्रचारप्रति सहकारी दुःख ब्यक्त गर्दछ ।
सहकारीको नीति नियममा आधारित रहेर २०५४ सालमा स्थापना भएको यस सहकारीमा रहेको सम्पुर्ण बचतकर्ताहरुको बचतको सुरक्षा र लगानी गरिएको ऋण असुलीमा सहकारी प्रतिवद्ध रहेको पनि सम्पूर्ण शेयर सदस्यहरुमा जानकारी गराउँदछौँ ।

साथै यस सहकारीका शेयर सदस्य मेघराज पोखरेलको ऋण र जग्गा लिलामको प्रकरणमा निम्म बुँदाहरुबाट प्रष्ट पार्न चाहान्छौँ । ।
– २०७५ असोजको १६ गते रु १५ लाख आवाज कर्जाको रुपमा लिएको, २०७५ मंसिर १८ गते ऋण ब्यवस्थापन नीति २०७५ को बुँदा नम्वर २.२.११ अनुसार हायर पर्चेज कर्जाको रुपमा रु १५,३३,००० र २०७५ मंसिर १९ गते निज मेघराजको श्रीमती सावित्री पोखरेलको नाममा कृषि कर्जाको रुपमा रु ५ लाख गरी जम्मा ३५ लाख ३३ हजार रुपैया जग्गा धितो राखी ऋण लिएको ।
-२०७६ मंसिर महिनासम्म नियमित रुपमा साँवाब्याज किस्ता बुझाएको
–  त्यसपछि साँवा ब्याज (किस्ता) तिर्न नआएको, पटक पटक मौखित, लिखित ताकेता गर्दा समेत सहकारीको सम्पर्कमा नआउने र साँवाब्याज (किस्ता) तिर्न आलटाल गरिरहेको ।
– सहकारीले किस्ता तिर्न पठाएको पहिलो ताकेता पत्र निजको श्रीमती सावित्रि पोखरेलले बुझेको, दोश्रो ताकेता पत्र स्वयं मेघराज पोखरेल ले नै बुझेको र २०७७ माघ १४ गते पठाएको अर्को तोकता पत्र पनि स्वंयले बुझेर हस्ताक्षर गरी १५ दिनभित्र हिसाव मिलान गर्न आउछु भनेर प्रतिवद्धता जनाएको ।
– त्यसपछि हिसाव मिलान गर्न नआएको । निज मेघराज कुनैपनि माध्ययमबाट सहकारीको सम्पर्कमा नआउँदा ऋण ब्यवस्थापन नीतिको परिच्छेद ४ को दफा ४.७ बमोजिम असुली प्रक्रियामा गएको ।
– समाचारमा उल्लेख भए अनुसार गाडी सहकारीको अधिनमा (सहकारीको नाममा दर्ता रहेको) रहेको कुरा साँचो हो । तर सहकारीको नाममा रहेको उक्त गाडी निज मेघराजबाट सहकारीले नियन्त्रण लिएको नभइ निजको ब्यक्तिगत कारोवार मिलाउन तेश्रो ब्यक्तिलाइ चलाउन दिएपछि सहकारीले तेश्रो ब्यक्तिबाट नियन्त्रणमा लिएको ।
– त्यसपछि २०७८ असोज ११ गते १० लाख रुपैया बुझाएको । त्यस रकमबाट श्रीमतीको नाममा रहेको ऋणको वाँकी साँवा रु ४,५४,४०० मध्ये ८,१९७ साँवा घटेको, तीनवटै ऋण शीर्षकको ब्याज रु ६,९०,६०३ रुपैया घटेको र सहकारी नियमअनुसार रु ३,०१,२०० हर्जना काटिएको ।
– २०७८ कार्तिकको ९ गते साँवा र ब्याज गरेर रु १३,१७,४२५ रुपैया पैसा बुझाइ हायर पर्चेज कर्जा चुक्ता गरी सो बापत राखिएको धितो फुकुवा गरी अन्य वित्तिय संस्थामा कारोवार गर्न गएको ।
– त्यसपश्चात सहकारीको नाममा रहेको गाडी नामसारी गरी निजलाइ फिर्ता लैजान पटक पटक लिखित मौखिक अनुरोध गर्दा पनि हालसम्म गाडी बुझि नलिएको र वाँकी शीर्षकका ऋणहरु चुक्ता नगरेको
– निज मेघराज पोखरेलले आवास कर्जाको रुपमा लिएको ऋणको साँवा रु १३,२५,००० वाँकी रहेको, र श्रीमतीको नाममा रहेको ऋणको साँवा रु ४,४१,८३२ रुपैया गरी कुल रु १७,६६,८३२ ऋण वाँकी रहेको अवस्थामा ऋण तिर्न कुनैपनि चासो नदेखाएपछि मिति २०७८ पौष ३० गते निजको धितो बापतको जग्गा प्रक्रिया अनुसार लिलामीमा गएको र सहकारीले आफ्नो नाममा दाखा गरी राखेको
– सहकारीको ऋण ब्यवस्थापन नीति २०७५ परिच्छेद ५ को दफा ५.११ बमोजिम धितो लिलामीमा गएर सहकारीको नाममा दाखा भएको जग्गा(धितो) ६ महिनाभित्र हिसाव राफसाफ गरी फिर्ता लैजान पाउने प्रावधानको समेत निजले समय गुजारेपछि भर्खरै सम्पन्न २६ औं साधारण सभाबाट उक्त अचल सम्पती सस्थाले चल सम्पतीमा रुपान्तरण गर्न साधारण सभाबाट अनुमति लिएको ।
र अन्तमा यस सहकारीको विषयमा कुनैपनि समाचार प्रकाशन प्रशारण गर्नुपुर्व सस्थाका जिम्मेवारी ब्यक्तिहरुसंग सोधपुछ गरेर मात्रै समाचार प्रकाशन प्रशारण गर्न अनुरोध गर्दछाँै ।

नवराज पाठक
महासचिव