
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को साउन २९ गते हुने निर्वाचनलाई लक्षित गर्दै पर्यटन व्यवसायी भरतजंग पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उनले पर्यटन व्यवसाय सुधारका ११ संकल्पसहित संस्थाको आगामी नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका सञ्चालक समेत रहेका पाण्डेले नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमिति निर्वाचनलाई लक्षित गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेको बताए । उनले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन, सदस्यसँगै-सदस्यको लागि’ भन्ने मूल नारासहित ‘नाट्टा रूपान्तरणका ११ संकल्प’ सार्वजनिक गरेका छन् ।
उनले ११ बुँदे संकल्पसहित १५ सदस्यीय प्यानल समेत सार्वजनिक गरेका छन् । पाण्डेको प्यानलमा सुनिल शर्मा वरिष्ठ उपाध्यक्ष, सविता के.सी. भट्टराई उपाध्यक्ष, राजकुमार देवकोटा महासचिव, रमेश पराजुली सचिव, दिकी शेर्पा कोषाध्यक्ष र जीवन कोइराला सह-कोषाध्यक्षका उम्मेदवार बनेका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा दीननाथ पाण्डे (प्रकाश), दिनेश मानन्धर, दीपक मारासेनी, नवीन गुरुङ, प्रकाश लोहनी, सरला सापकोटा, सुमन लाल श्रेष्ठ र स्वस्तिका प्रधान उम्मेदवार रहेका छन् ।

प्रतिबद्धतामा नाट्टालाई सुशासित, प्रविधिमैत्री, आर्थिक रूपमा आत्मनिर्भर र सदस्यमैत्री संस्था बनाउने लक्ष्य राखिएको छ । साथै पर्यटन व्यवसायलाई थप प्रतिस्पर्धी, नवप्रवर्तनमुखी र दिगो बनाउँदै समग्र पर्यटन क्षेत्रको सुधारका लागि स्पष्ट कार्ययोजना अघि सारिएको उल्लेख गरिएको छ ।
प्रतिबद्धता मार्फत सदस्यको हितलाई केन्द्रमा राख्दै संस्थागत सुदृढीकरण, सेवा प्रवाहमा प्रविधिको विस्तार, पारदर्शी प्रशासन, व्यवसायीको क्षमता अभिवृद्धि तथा पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि विभिन्न कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्ता छन् रूपान्तरणका ११ संकल्पनाहरुः
सुशासन र संस्थागत सुदृढीकरण : प्रतिबद्धतामा नाट्टामा सुशासन, पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागितालाई संस्थागत गर्दै सबै सदस्यलाई समान अवसर र निष्पक्ष प्रतिनिधित्व सुनिश्चित गर्ने उल्लेख गरिएको छ। संस्थागत निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने तथा प्रदेशहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधन गरिने योजना पनि समेटिएको छ।
अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन : सम्भावित नयाँ पर्यटन बजारको पहिचान गरी नियमित सेल्स मिसन सञ्चालन गर्ने, विश्वस्तरीय ट्राभल मार्टहरूसँग सहकार्य गर्दै बीआईटीएमलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित कार्यक्रमका रूपमा विकास गर्ने तथा विश्वका प्रमुख पर्यटन मेलामा नेपालको सहभागिता विस्तार गर्न सरकारी-निजी क्षेत्रबीच सहकार्य सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
हवाई सेवा तथा कर नीतिमा सुधार : टिकेटिङ प्रणालीमा देखिएका प्राविधिक समस्या समाधान, हवाई टिकटमा लाग्दै आएको भ्याट तथा अन्य कर नीतिको पुनरावलोकन, पर्यटक यातायात सेवामा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाउन पहल गर्ने तथा पर्यटक सवारीसाधनका लागि हरियो नम्बर प्लेटको निरन्तरता सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिने जनाइएको छ ।
पर्यटन कूटनीति विस्तार : विदेशस्थित नेपाली दूतावास, पर्यटन दूत तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगहरूसँग सहकार्य गरी नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता गरिएको छ ।
सदस्य क्षमता विकास : सदस्यहरूका लागि नियमित निःशुल्क तालिम, युवा लक्षित सीप तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गरिने, प्रदेश समितिलाई थप सक्रिय बनाइने तथा डिजिटल मार्केटिङ, लेखा, टिकटिङ, जीडीएस र पर्यटन प्रविधिसम्बन्धी तालिमलाई निरन्तरता दिइने उल्लेख छ ।
डिजिटल रूपान्तरण : अनलाइन सदस्यता नवीकरण, अनलाइन भुक्तानी प्रणाली, डिजिटल गुनासो तथा सहायता सेवा, एकीकृत डिजिटल पोर्टल र समर्पित हटलाइन सञ्चालन गरी नाट्टाको सम्पूर्ण सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ ।
राष्ट्रिय पर्यटन र प्रदेशसँग सहकार्य : सातै प्रदेश सरकारसँग सहकार्य गरी नयाँ पर्यटन गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिने उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र, बैंक, बीमा कम्पनी तथा ठूला कर्पोरेट संस्थालाई समेत अभियानमा सहभागी गराइने योजना अघि सारिएको छ । साथै, आउटबाउन्ड पर्यटन व्यवसायमा देखिएका विदेशी मुद्रा, डलर कार्ड तथा बैंकिङसम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायसँग पहल गरिने जनाइएको छ ।
इनबाउन्ड तथा बहुदेशीय पर्यटन व्यवस्थापन : नेपाली व्यवसायीलाई ठगी गर्ने विदेशी कम्पनीलाई कालोसूचीमा राख्न पहल गरिने, कैलाश, भुटान, भारत र श्रीलङ्का समेटेर बहुदेशीय पर्यटन प्याकेज विकास तथा प्रवर्द्धन गरिने र बङ्गलादेशी पर्यटकलाई लक्षित गर्दै नेपालमा बङ्गलादेशी टाका (बीडीटी) सटहीको व्यवस्था मिलाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
दिगो पर्यटन विकास : आगामी दुई वर्षभित्र प्रमुख पर्यटन गन्तव्यमा कम्तीमा १० वटा सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य राखिएको छ। साथै, होमस्टे प्रवर्द्धन, ग्रामीण पर्यटन विकास, ‘क्लिन एन्ड ग्रीन नेपाल’ अभियान सञ्चालन तथा ट्रेकिङ र हाइकिङ मार्गमा ‘क्यारी इन(क्यारी आउट’ सिद्धान्त लागू गरी फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाइने योजना समेटिएको छ ।
सदस्य हित संरक्षण : जीडीएस फ्रड, साइबर अपराध तथा अन्य प्रविधिजन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न बीमा सुरक्षा योजना लागू गर्ने, एयरलाइन्स, जीडीएस, बीएसपी, आईएटीए तथा सरकारी निकायसँग नियमित समन्वय गरी टिकटिङ, सेटलमेन्ट, भुक्तानी र कमिसनसम्बन्धी समस्या समाधान गर्ने तथा सदस्यहरूको व्यावसायिक अधिकार संरक्षणका लागि आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने उल्लेख गरिएको छ ।
आत्मनिर्भर र सशक्त नाट्टा निर्माण : प्रतिबद्धतामा नाट्टालाई आर्थिक रूपमा आत्मनिर्भर, सबल र दिगो संस्था बनाउने, नयाँ आयस्रोत विकास गर्ने, सदस्य संख्या कम्तीमा एक हजार पुर्याउने, पर्यटन महासंघ तथा पर्यटन पूर्वाधार विकास प्राधिकरण गठनका लागि पहल गर्ने तथा सबै प्रदेशको अनिवार्य प्रतिनिधित्व सुनिश्चित हुने गरी संस्थागत संरचना सुदृढ बनाउने लक्ष्य समेटिएको छ ।
पाण्डे नेतृत्वको प्यानलले यी ११ संकल्प कार्यान्वयनमार्फत नाट्टालाई आधुनिक, पारदर्शी र प्रभावकारी संस्था बनाउने तथा नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न भूमिका खेल्ने दाबी गरेको छ ।