
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगले बिहीबार स्वीकृत गरेको कार्यतालिकाअनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भई मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ ।
राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ ।
स्वीकृत कार्यतालिकाअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
