
काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ ।
अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आज जिल्ला अदालतमा सुनुवाइ भएको हो ।
अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।
१० जेठ २०७७ मा जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक साथीहरू सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी आफ्नी प्रेमीका सुष्मा मल्लसँग विवाहको कुरा गर्न सोती गाउँका पुगेका थिए । अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । ६ जनाको शव भेरी नदीमा फेला परेको थियो ।
अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । घटनामा संलग्न २३ जना प्रतिवादी थुनामा छन् । प्रतिवादी मध्ये दुई जना नाबालक छन् ।
आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ ।