अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर संचालक कल्पना रावत पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा भेरि एण्ड कर्णाली ईन्टरनेश्नल नामक म्यानपावरकी मालिक कल्पना रावत भट्ट पक्राउ परेकी छिन् । गत मंसिर पहिलो हप्ता उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी रावतलाई यतिबेला काठमाडौं जिल्ला प्रहरी परिसरको कार्यालय टेकुमा हिरासतमा राखिएको छ । एक व्यक्तिलाई अमेरिका पठाइदिने भन्दै ५० लाख रुपैयाँ ठगी गरेको उनीमाथि आरोप छ ।

उनी विरुद्ध अन्य व्यक्तिले समेत ठगी अभियोगमा उजुरी दिएको पीडितहरुको गुनासो छ । आफूलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सदस्य समेत रहेको बताउने रावतले यसअघि पनि धेरै व्यक्तिहरुलाई ठगी गरेकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले रावत पक्राउ परेको पुष्टि गरे । उनी विरुद्ध आपराधिक लाभ लिएको अभियोगमा अनुसन्धान भइरहेको छ ।

यसअघि ११ जना भन्दा बढी पीडितहरुले रावत विरुद्ध उजुरी दिएका थिए । उजुरीपछि तत्कालिन प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनी शक्ति केन्द्र लगाएर छुटेकी थिइन् ।

सम्बन्धित खबर

सिफारिस