धादिङ्गमा कारगारबाट छुटेकै दिन शिव बहादुरले गरे ६२ वर्षिय महिलाको घाँटी थिची हत्या

दियो पोस्ट  

धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङ्गमा केहीदिन अघि भएको हत्याकाण्डको पर्दा खुलेको छ । हत्यामा संलग्नहरु पक्राउ परेसँगै नयाँ तथ्य फेला परेको छ । जेलबाट निस्केकै दिन एक व्यक्तिले ६२ वर्षिय मन कुमारी सर्किनीको हत्या गरेको खुलाशा भएको छ । गत मंसिर १५ गते गते विहान अन्दाजी साढे ९ बजे मन कुमारी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटना रहस्यमयी भएको भन्दै पीडित परिवारले अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका थिए । घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक महिलाको शवको प्रकृती हेर्दा मृतकको अनुहारमा कोतरिएको, घाँटीमा डामहरु देखिएको घटनास्थलमा चुराको फुटेको टुक्रा र पोतेको दानाहरु छरप्रष्ट अवस्थामा रहेको देखिएको थियो । शवको प्रकृति हेर्दा महिलाको कर्तव्य गरि हत्या गरेको अनसन्धानमा खुलेको थियो । मृत महिलालाई कर्तव्य गरी मारेको भन्ने प्रारम्भिक अनुसन्धाबाट देखिँएको ।
प्रहरी अनुसन्धानमा खुले अनुसार मृतक महिलालाई त्रिपुरासुन्दरी गाउँपालिका वडा नं–६ गोलाङ वस्ने अन्दाजी ४० वर्षिय शिव वहादुर वस्यालले एक दिन अघि रातको समयमा ती घाँटी थिचेर हत्या गरेका थिए । उनलाई प्रहरीले गोलाङ्गमै गोरेटो बाटोमा लुकिछिपी वसेको अवस्थामा फेला पारेको हो । घटनाबारे अभियुक्तले बयानमा अभियोग स्विकार गरेका छन् । उनले दिएको बयान अनुसार
उनलाई स्थानिय ५४ वर्षिय टोप बहादुर सार्की र ५० वर्षिय सुनिल नेपालीले आदेश दिएको बयानमा खुलाएका छन् ।
पक्राउ परेका शिव बहादुर बस्याल यसअघि पनि जबरजस्ती करणी उद्योग, चोरी लगायतको फौजदारी कसूरहरुमा पटक÷पटक सजाय पाएको व्यक्ति रहेका अभिलेखबाट देखिएको छ । २०८० मंसिर १४ गते नै जिल्ला कारागार धादिङ्गबाट उनी चोरी मुद्दामा २० महिना सजाय भुक्तान गरि रिहा भएका थिए । सोही दिन उनले ती महिलालाई घाँटी थिचेर हत्या गरेका थिए । पक्राउ परेका सार्की र नेपालीले बस्याललाई आर्थिक प्रलोभन देखाएर हत्याका लागि प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरु तीनै जनालाई जिल्ला अदालत धादिङ्गले थप अनुसन्धानका लागि म्याद थप गरेको छ ।