
काठमाडौं । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ लेखेको छ । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेकोबारे प्राधिकरणले मंसिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिवद्धतासहितको जवाफ हिजो पठाएको हो ।
शेयर खरिदबिक्रीबारे एनसेलले गराएको जानकारी पत्रमा २ बुँदा उल्लेख छ । पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने जिकिर गरिएको छ । प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ ।
बेलायतको कम्पनीसँग गरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने काम भइरहेको एनसेलले बताएको छ ।
प्राधिकरणले शुक्रबार एनसेल आजियटालाई पत्र लेखेर शेयर खरिदबिक्रीबारे ध्यानाकर्षण भएको जनाएको थियो ।