
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा बिहीबार मध्याह्न १२ बजे मुक्का प्रहार भयो । मुक्का हान्ने व्यक्ति हुन्– महेश राई ।
धनकुटाको कार्यक्रमा पुगेका अध्यक्ष केपी आलीलाई फूलमाला लगाउने लाइनमा थिए, राई । राईलाई एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा राखिएको थियो । त्यसैबेला माला लगाउन खोजे जसरी अध्यक्ष ओलीको टाउकोमा मुक्का हानेका थिए । तर, ओलीको गालामा लागे जस्तो भिडियोमा देखिएपनि एमाले जनले ओलीमाथि मुक्का लागेको विषयमा स्विकार गर्न सकेको छैन ।
अध्यक्ष ओली संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका हुन् । त्यसै क्रममा ओलीमाथि बिहीबार आक्रमण भएको हो । मध्यपहाडी संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेशले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमण लगत्तै राईलाई एमाले कार्यकर्ताले कुटपिट गरेका थिए । महालक्ष्मी–५ धनकुटाका महेश राई कुनै पनि संघ संगठनमा रहेको खुल्न आएको छैन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।