
काठमाडौं । कृषि ज्ञान केन्द्र कालिकोटमा भएको भ्रष्टाचार प्रकरणको मुद्दामा ज्ञान केन्द्रका तत्कालीन प्रमुखसहित १३ जनाले सफाइ पाएका छन्। ६६ लाख बराबरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै विशेष अदालतले १३ जना प्रतिवादीलाई सफाइ दिएको हो।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरु राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको सोमबारको इजलासले उनीहरुलाई सफाइ दिएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ चैत ६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
कलिकोटको सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकममा सम्झौताअनुसार काम नगरी हिनामिना गरेको दाबी अभियोगपत्रमा गरिएको थियो।
अख्तियारले कृषि ज्ञान केन्द्र, कालिकोट (हाल कृषि विकास कार्यालय, कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, खाँडाचक्र नगरपालिकाका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयका तत्कालीन सब–इन्जिनयर गुरूराज संज्यालले सभ्वाव्यता अध्ययन समेत नगरेको दाबी अभियोगपत्रमा गरेको थियो।
उनीहरूले आवश्यक विद्युत् आपूर्ति समेत नभएको ठाउँमा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त छ भनेर सिफारिस गरेको अख्तियारको दाबी थियो।
हचुवाको भरमा लागत अनुमान तयार गरेको र हाइटेक नर्सरीको लागि खरिद गरिएका यन्त्र उपकरणहरूको मूल्यसमेत अत्याधिक रुपमा बढाएको अख्तियारले दाबी गरेपनि विशेषले दोषी ठहर गर्ने प्रमाण नपुगेको भनेको छ।
अनुदान लिएर नर्सरी सञ्चालनमै नआएको अवस्थामा लिमिटेडबाट जडान भएका मालसामानहरूको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको दाबी थियो। सोही प्रतिवेदनको आधारमा उनीहरूले ६६ लाख ५० हजार भुक्तानी गरी भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको थियो।