
काठमाडौं । सरकारले युक्रेनी जेलमा ४ नेपाली रहेको पुष्टि गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो।
युक्रेनी जेलमा रहनेमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेका छन्।
सरकारले युक्रेनमा बन्दी बनाइएका यी चार जना नेपालीलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरेको छ।
यस्तै उनीहरुको रिहाइ र नेपाल फिर्तीको लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरू माध्यमबाट पनि कूटनीतिक पहल गरिएको मन्त्रालयले जनाएको छ।