महिलाको हत्या गरी ६ वर्षदेखि फरार रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
भारतबाट नेपाल आउँदैछन् भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई खोजी गरेको थियो।
०७४ पुस ३० गते काठमाडौं महानगर १४ बल्खु भुवनेश्वर मन्दिर नजिकै महिलाको शव फेला परेको थियो।
मकवानपुर हाँडीखोलाकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको शव फेला परेको थियो। उनी मजदुरी गर्थिन्। टाउको, मुखमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो।
उनको हत्या भएको ६ वर्षपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी नेतृत्वको टोलीले आरोपी जगतलाई पक्राउ गरेको हो। यो घटनामा संलग्न रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारी भने कारागारमै रहेको प्रहरीको भनाइ छ। उनी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा पक्राउ परी ३ वर्ष कैद सजाय भएर केन्द्रीय कारागारमा छन्।