दुबईमा श्रीमान बिचल्ली, नेपालमा श्रीमतीको आत्मदाह प्रयासः यी हुन् म्यानपावर दलाल

फ्री भिसा, फ्री टिकटको नाममा लाखौं ठगी

दियो पोस्ट  

काठमाडौं । दुबईमा दुई महिनादेखि अलपत्र परेका अकबर अन्सारीको सकुशल उद्दारका हारगुहार माग्दा पनि सुनुवाई नभएको भन्दै श्रीमती अफ्रुज खातुनले आत्मादाहाको प्रयार गरेकी छन् । नगर प्रमुख गणेश पोखरेल लगायत विभिन्न व्यक्तिसँग हारगुहार माग्दापनि कुनै चासो नदिएपछि खातुनले बिहीबार विहान १० बजे नगर प्रमुखको कार्यकक्षबाट निस्कीए लगतै आत्मादाहको प्रयार गरेकी हुन् । भद्रपुर ८ फुलबारी टोल निवासी खातुनले पेट्रोल छर्किर आत्मदाहको प्रयार गरेकी हुन् ।

खातुनले सलभित्र लुकाएर ल्याएको पेट्रोलको बोतल खोली शरीरमा छर्कीएर सलाई कोर्न लाग्दा नगरका कर्मचारीहरूले बचाए थिए । त्यसपछि नगर प्रमुख पोखरेलले उनी सहित परिवारका सदस्यलाई सम्झाइ घर पठाएका छन । तर अकबर अन्सारीसँग रहेको पाँच जनाको उद्धार भइसकेको छ । अनसारीको उद्धार गरिदिने कोही नभएपछि उनका परिवार आत्तिएर नगरपालिका पुगेका हुन् ।
अन्सारीको उद्दारका लागि संघीय सांसद विश्वप्रकाश शर्मा समेत लागि परेको बताउँदै नगरप्रमुख पोखरेलले भने,‘मन्त्रालयमार्फत दुबईको राजदूतावाससँग कुराकानी भइरहेको छ,छिट्टै अन्सारीको त्यहाँबाट सकुशल उद्धार गरिन्छ ।’
भद्रपुरमा आफ्नै फर्निचर सञ्चालन गरी बसेका ३९ वर्षीय अकबर अन्सारी आर्थिक समस्याका कारण काठमाडौं स्थित धुम्वाराहीमा रहेको (मेनपावर) सागर रिक्रुटमेन्ट प्रालीबाट गत असोज २८ गते दुबई पुगेका थिए । फ्री भिसा, फ्री टिकटको नाममा अन्सारीसँग सागर रिक्रुटमेन्टले १ लाख ७५ हजार लिएको थियो ।

म्यानपावरले उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङमा कारपेन्टरको काममा पठाएको हो । ११२० दिराम, अर्थात् करिब ४० हजार नेपाली रुपैयाँ मासिक तलब पउने सर्तमा दुवई पठाएको हो । तर, कार्पेन्टर भनी गएपनि त्यहाँ उनलाई साधारण काममा लगाएको थियो । साधारण काम गर्न थालेपनि उनी ९ दिनमै बिरामी परेका थिए । विरामी परेको खबर परिवारलाई सुनाए लगतै उद्दारका लागि श्रीमती खातुन हारगुहार माग्न थालीन् तर कसैले सुनेन ।
अन्सारीको परिवारले उद्धार लागि आग्रह गर्दा मेनपावर सागर रिक्रुटमेन्टले उल्टै प्लेन भाडा मागेको छ । फ्री भिसा, फ्री टिकटमा अन्सारीसँग १ लाख ७५ हजार लिएइसकेको मेनपावरले नेपाल फिर्ता ल्याउनका लागि प्लेन भाडा मागेपछि परिवारका सदस्यहरु आत्मदाहको स्थितिमा पुगेको हो ।

यसरी ठगी गरेर मानव तस्करी गर्ने मेनपावरका अध्यक्ष दोर्जे शेर्पा हुन् । उनीमाथि हालसम्म सरकारले कुनै कारबाही गरेको छैन ।