संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

शनिबार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अब सुरू हुने नयाँ अधिवेशनको पहिलो काम नै सत्य निरूपण र शिक्षा ऐन संसदबाट पारित गराउन पहल गर्ने बताए।

‘तपाईहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ। अहिले संसद अधिवेशन समापन भएको छ। नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउन पहल हुन्छ। यो ऐन सरकारको उच्च प्राथमिकतामा छ,’ उनले भने।

शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट दिएको दवाबले पनि सरकारलाई सहयोग पुगेको प्रधानमन्त्री प्रचण्डले बताए।

शिक्षा ऐनमा शिक्षकहरूले मस्यौदामा दिएका सुझावहरू समेटिने र जायज तथा सम्भव मागहरू सम्बोधन गरिने उनले बताए।