टिकटक मार्फत चिनजान, विवाहको प्रलोभन देखाएर बलात्कार

इन्टरपोलको सहयोगमा कुवेतबाट पक्राउ

दियो पोस्ट  

काठमाडौँ । वैदेशिक रोजगारीमा कुवेतमा रहँदा काभ्रेका उमेश लामा र काठमाडौँमा बस्ने एक युवतीबिच सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत चिनजान भयो चिनजानपछि विस्तारै कुरा पनि हुँदै गयो । उमेश कुवेतबाट नेपाल फर्केपछि उनीहरूले भौतिक रूपमा चिनजान र भेटघाट गरे । उनीहरू बिचको दोस्ती ‘प्रेम’मा बद्लियो ।

उनीहरूको बिचमा विवाह गर्ने सहमति भयो । युवतीलाई विवाह गर्ने सर्तमा उमेशले बलात्कार गरे । तर, सँगै घरजम गर्ने सर्तमा शरीर सुम्पेकी युवतीलाई थाहै नदिई उमेश फेरी कुवेत फर्किए । उनी सम्पर्कविहीन भएपछि युवतीले सम्पर्क गर्ने हर प्रयास गरिन् । परिवारसँग कुरा गर्दा परिवारका सदस्यहरूले गैह्र जिम्मेवार जवाफ दिए । त्यसपछि उनी प्रहरीकहाँ पुगिन् र जाहेरी दिइन् । युवतीको जाहेरीका आधारमा इन्टरपोलबाट उमेश विरुद्ध रेड नोटिस जारी गरिएको थियो । उमेशलाई पक्राउ गर्न नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत असोज ११ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

इन्टरपोलको सहयोगमा उमेशलाई कुवेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाबारे प्रहरी वृत जगातिले अनुसन्धान गरिरहेको छ । पीडितले दिएको बलात्कारको जाहेरीका आधारमा अदालतबाट म्याद लिएर उनीबारे अनुसन्धान भइरहेको छ ।

उमेश भक्तपुरका विभिन्न ठाउँमा भेटेर ‘विवाह गर्ने त होनी’ भनेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ ।

उमेश काभ्रेपलान्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–८ का स्थानीय हुन् ।