टिआरसी विधेयक अगाडि बढाउन तीन दलबीच सहमति

दियोपोस्ट संवाददाता

काठमाडौं। सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अगाडि बढाउन तीन दलबीच सहमति जुटेको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठकबाट विधेयकलाई आगामी संसद अधिवेशनमा लैजान सहमति जुटेको बैठकमा सहभागी एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले दियोपोस्टलाई जानकारी दिए।

‘विधेयक अगाडि बढाउन सहमति जुटेको छ, यसबारे आगामी दिनहरूमा पनि छलफल गर्ने र हिउँदे अधिवेशनमा संसदमा लैजानेबारे दलहरूभए,’ उनले भने।

विधेयक अगाडि बढाएर शान्ति प्रक्रियालाई चाँडै टुंगोमा पुर्याउनेबारे सबै दलहरू पहिलेदेखी नै प्रतिबद्ध रहेको तर वास्तविक पीडितलाई न्याय हुनेगरी विधेयक आउनुपर्ने एमालेको माग रहेको उनले बताए।

‘हामीले राखेका विषयहरूमा छलफल गर्दै जाने विषयमा पनि प्रधानमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ, सिधा भन्दा अब विधेयक अघि बढ्यो,’ उनले भने।

टिआरसीबारे आममाफी, बालसेना लगायतका विषयसँगै मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालकै सर्वोच्च अदालतले व्याख्या गरेको कानुनका विषयलाई सम्बोधन हुनेगरी विधेयक ल्याउनुपर्ने माग गर्दै आइरहेको छ।

आजको छलफलबाट यी सबै विषयमा छलफल गर्ने र टुंगोमा पुर्‍याउनेमा सबै शीर्ष नेताहरू सकारात्मक रहेको एमाले सचेतक बर्तौलाले बताए।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पनि आगामी हिउँदे अधिवेशनबाट टिआरसी विधेयक अगाडि बढाउनेबारे सहमति जुटेको जानकारी दिए।

आजको छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, कांग्रेसबाट सभापति शेर बहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ र एमालेबाट अध्यक्ष केपी शर्मा ओली र सचेतक महेश बर्तौला सहभागी थिए।

सम्बन्धित खबर

सिफारिस