काठमाडौं। नेकपा एमालेका नेता विशाल भट्टराईले वर्तमान सरकार पूर्णरूपमा असफल भएको बताएका छन्।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भट्टराईले एक वर्षको मूल्यांकन गर्दा पूर्ण रूपमा असफल साबित भएको बताएका हुन्।
‘सरकारको एक वर्षको मुल्यांकन गर्दा जनतामा उत्साह सिर्जना गर्ने कुरा प्रधान हो, तर यो सरकारले उत्साह फैलाउन सकेन । एक वर्षको दौरानमा जनतामा निराशा फैलियो । एक जना उटपट्याङ मान्छेले म पूरानो व्यवस्था फर्काउँछु भन्छ । तर, सरकार हेरेरमात्र बस्छ,’ उनले भने।
मुलुकको अर्थतन्त्र तहसनहस अवस्थामा रहेको पनि उनको दाबी छ । कर्मचारीलाई तलब खुवाउन देखिएको समस्या, राजस्वको अवस्था, निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको अवस्था, सहकारी ठगीका घटना लगायत विभिन्न कुराहरूले सरकारको असफलता पुष्टि गर्ने उनले बताए।
सरकारको एक वर्षको अवधिमा कुनैपनि नयाँ परियोजना सुरू नहुनुले पनि सरकार सफल रह्यो कि असफल बन्यो भन्ने विषय प्रष्ट हुने उनको भनाइ छ।
उनले सुशासनको क्षेत्रमा पनि सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।
‘ज्यान मारेकाहरु आममाफी दिइयो । तर, सर्वोच्च अदालतले न्याय दियो । संक्रमणकालिन न्याय टुँगो लगाउने भनेर हिजो मानवताविरुद्धका गम्भीर अपराधमा पनि उन्मुक्ति दिन खोजिँदैछ। एमाले गम्भीर अपराधमा उन्मुक्ति दिन नहुने पक्षमा छ । टिआरसी टुँगो लगाउने कुरामा एमाले पीडित र न्यायको पक्षमा उभिन्छ,’ उनले भने।