गौशालाबाट बालिका अपहरण गरेको आरोपमा युवक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । गौशालाबाट दुई वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५ घर भएका राज नेपाल छन् ।

नेपालले काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट दुई वर्षीय बालिकालाई लिएर पठाओमा चढाएर बालिकालाई भक्तपुरस्थित दधिकोटमा लगेर राखेको प्रहरीले जनाएको छ । बालिकालाई सकुशल उद्धार गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका थिए । आरोपीले प्रहरीसँग भनेका छन्–‘चिया पसलेले मेरो छोरी लगेर राखेका थिए, मैले ल्याएको हुँ ।’

अफलाइन पठाओमा चढाएर बालिका लगेको हुनाले प्रहरीले सिसिटिभीको सहायताले अनुसन्धान गरेर उनलाई पक्राउ गर्न सफल भएको छ । आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।

सम्बन्धित खबर

सिफारिस