काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ।
काठमाडौै जिल्ला अदालतमा आइतबारदेखि लगातार भइरहेको बहस आज पनि नसकिएपछि न्यायाधीश शिशिरराज ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्।
आजको सुनुवाइमा सन्दीप लामिछाने पक्षका वकिलहरूले बहस गरेका थिए। उनको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी रहेपछि न्यायाधीश ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्।
अब बाँकी बहस भोलि हुनेछ। दुई जनाको मात्रै बहस बाँकी भएकाले उक्त मुद्दामा भोलि फैसला आउन सक्ने सम्भावना छ।
यो मुद्दालाई सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट टुंगो लगाउन भनेपनि जिल्ला अदालतका न्यायाधीशहरूले विभिन्न बहानामा मुद्दाको सुनुवाइ रोक्दै आएका छन्।
सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।