अझै ६१ वटा उद्योगको बिजुली काटिँदैछ, मैले रोकेर पनि रोकिदैँनः कुलमान घिसिङ

दियो पोस्ट  

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अझै ६१ वटा उद्योगको बिजुली काटिने बताएका छन्।

बिहीबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशकले बक्यौता बाँकी रहेका ६१ उद्योगको विद्युत् काटिने बताएका हुन्।

उनले अब यसलाई आफूले रोक्न नसकिने समेत बताएका छन्। बक्यौता नतिर्नेको लाइन काट्ने भन्ने निर्देशनकै आधारमा काम भइरहेको उनले बताए।

‘मैले रोकेर विषय छैन। जहाँबाट समस्या भएको छ। त्यहीँबाट हल गर् भनिएको छ,’ उनले भने।

घिसिङले बक्यौता तिर्न आउनेलाई इन्स्टलमेन्टमा तिर्न सक्ने गरी व्यवस्था मिलाउन भने आफूले सक्ने बताए।

‘समय तोकेर त्यतिबेला सम्म तिर्न सक्छौं भनेर आउने उद्योगहरूलाई सहयोग गर्न तयार छौं तर, पटकपटक आग्रह गर्दा पनि महशुल बुझाउन अटेर गर्ने उद्योगहरूको लाइन काटिन्छ,’ उनले भने।

प्राधिकरणले लोडसेडिङको अवस्थामा विद्युत् आपूर्ति बन्द नहोस् भनेर आधारभुत क्षेत्र र उद्योगी व्यवसायीलाई  डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् दिएको थियो।

यसरी विशेष व्यवस्था गरिएको विद्युत् उपयोग गर्दा सम्बन्धित उद्योग तथा क्षेत्रहरूले प्रिमियममा महशुल बुझाउनुपर्ने व्यवस्था छ।

सो अनुसारको भुक्तानी माग्दा महशुल बुझाउन अटेर गर्ने उद्योगहरूको लाइन प्राधिकरणले ०८० पुस ६ गतेदेखि काट्न थालेको हो।