काठमाडौं । मालपोत कार्यालय धादिङ्गका प्रमुख खेमराज खत्रीले धादिङ्गका एक समाजसेवी नेतामाथि दुर्व्यवहार गरेको खुलाशा भएको छ । मालपोत कार्यालय धादिङ्गले अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै एक पीडितलाई लिएर मालपोत कार्यालय पुगेका माओवादी केन्द्रका नेता राम बहादुर भण्डारीमाथि खत्रीले दुर्व्यवहार गरेपछि अहिले यो मुद्दा जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ ।
खत्रीले भण्डारीलाई प्रहरी बोलाएर अभद्र व्यवहारमा मुद्दा चलाउँछु भन्दै धम्काएको नेता भण्डारीले दियोपोस्टलाई जानकारी दिए । मालपोत कार्यालयका प्रमुख खत्रीले गरेको दुर्व्यवहारबारे जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले समेत खत्रीलाई सोधपुछ गरेको छ ।
मालपोत अधिकृत खत्रीले प्रमुख अधिकारी गैरेले समेत आफूलार्य बोलाएर सोधपुछ गरेको जानकारी दिए । ‘मैले उहाँलाई दुर्व्यवहार गरेको होइन । उहाँ एउटा कागजको चिर्कटो लिएर आउनु भएको थियो । मैले मुद्दा शाखामा गएर बुझ्नु भनेको थिएँ । त्यही विषयमा उहाँले मलाई भ्रष्टाचारी भन्दै मलाई गाली गलौच गर्नु भयो,’ खत्रीले दियोपोस्टसँग भने,‘उहाँले अघिल्लो कार्याकालको पनि कुरा गर्नु भएको थियो । मैले अभद्र व्यवहारमा मुद्दा चलाउन सक्छु भनेको हुँ ।’