‘भीम रावल आफै निस्कनुभएको हो, निकालेका होइनौं’

नेकपा एमाले

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वउपाअध्यक्ष भीम रावल आफै पार्टीबाट निस्किएको दाबी गरेका छन् ।
शुक्रबार चितवनमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले रावललाई पार्टीले हटाएको नभई उनी आफै हटेको बताएका हुन्।

‘पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ ?,’ उनले भने, ‘त्यसकारण रावलजीलाई हामीले निकालेको होइन उहाँ आफै निस्किएको हो भन्ने बुझ्छु।’

महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताए।

‘नागरिकका रूपमा उहाँलाई कारबाही गर्नुपर्ने आवश्यकता छैन। उहाँ सचेत नागरिक हो। पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्यमान्यता हुन्छन्। त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छ ?,’ उनले भने।

पोखरेलले चितवनमै भएको दसौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस् भन्दा नमानेको पनि बताए।

त्यतिबेला कार्यकर्ताको भावना विपरीत उम्मेदवारी दिँदा अध्यक्षमा मात्र नभई केन्द्रीय समितिमा पनि पराजित भएको पोखरेलले बताए।

सिफारिस