धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका २ मैदीमा निर्माण हुनुपर्ने भनेर स्विकृत भएको बोलपत्र अनुसारको सडक अन्यत्रै निर्माण भएको पाइएको छ । ज्वालामुखि गाउँपालिका २ मैदी वडा कार्यालयले माग गरेबमोजिम सहरी विकास मन्त्रालयले दारेगौडा ठूलोचौर एक्लेपिपल तल्लो हटिया सडक कालोपत्रे शिर्षकमा १ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।
सोही बिनियोजित रकमको शिर्षकको ठेक्कामा सडक निर्माणको काम भने सिद्धलेक गाउँपालिका ६ दारेगौँडामा कार्यान्वयन गरिएको छ । यो विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
ज्वालमुखि गाउँपालिका २ मैदी वडा कार्यालयले ठेक्का कार्यान्वयन फरक स्थानमा रहेको भन्दै ध्यानाकर्षण भएको पत्र नुवाकोटस्थित सडक डिभिजन कार्यालयलाई समेत गरेको छ । तर, सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख सुवोध देवकोटालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
गत कार्तिक २३ गते उनलाई लिखित जानकारी गराउँदा समेत उनले बेवास्ता गरेको आरोप छ । यता सडक विभागका महानिर्देशक रामहरी पोखरेल भने यस विषयमा आफूले निर्देशन दिइसकेको बताउँछन् । ‘मलाई यो विषयमा तपाईंले पनि भन्नु भयो । अख्तियारबाट पनि फोन आएको छ । मैले जहाँ ठेक्का लागेको हो त्यहाँ नै सडक निर्माणका लागि भनिसकेको छु,’ दियोपोस्टकर्मीसँग उनले भने ।
प्राप्त कागजात अनुसार गत भदौ २ गते सडक निर्माणका लागि ज्वालामुखि गाउँपालिका २ का वडाध्यक्ष राजु लोप्पासहित प्राविधिक समुहले प्राविधिक नापजाँच गरेको थियो । गत भदौ १० गते आर्थिक दैनिकमा प्रकाशित बोलपत्र आह्वानको सुचनामा पनि ज्वालामुखि २ वडा कार्यालयले माग गरेको शिर्षक नै उल्लेख छ ।
त्यस्तै २०८१ कार्तिक ५ गते प्रकाशित बोलपत्रको नतिजा प्रकाशित भएको सोही दैनिक पत्रिकाको सुचनामा पनि सोही शिर्षक अर्थात (दारेगौँडा ठूलोचौर एक्लेपिपल तल्लोहटिया सडक, धादिङ’ उल्लेख छ । ठेकेदार कम्पनिको नाम कन्यादेवि निर्माण सेवा उल्लेख छ । ठेकेदार कम्पनिका बालकृष्ण श्रेष्ठलाई यस विषयमा सम्पर्क गर्दा सडक डिभिजन कार्यालयले प्राविधिक तयार गर्दा नै मिस्टेक भएकाले यस विषयमा सोमबार मात्रै प्रतिक्रिया दिने उनले बताए ।
स्थानिय राजेन्द्र सिंखडाका अनुसार गत असोज २३ गते ठेक्का कार्यान्वयनका लागि सडक डिभिजन कार्यालय नुवाकोटलाई ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई भएको छैन । भ्रष्टाचार निवारण ऐन २०५८ अनुसार यसरी गलत प्राविधिक परिक्षणका आधारमा अन्यत्रै सडक निर्माण भएको पाइए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन सक्छ । यसरी मुद्दा चल्ने अवस्था आए ठेकेदार कम्पनि र सडक डिभिजन कार्यालय नुवाकोटका हालका प्रमुखलाई समेत मुद्दा लाग्ने देखिएको छ ।