काठमाडौं, मंसिर १७ , अघिल्लो खेलसम्म लालिगामा दोस्रो स्थानमा रहेको बार्सिलोनाले पुनः पहिलो स्थान कब्जा गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले आफ्नो खेल जित्दा, पहिलो स्थानमा रहेको सेभिल्ला अलाभेससँग एक एक गोलको बराबरीमा रोकियो । तेस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिड पनि जिरोनासँग एकएक गोलको बराबरीमा रोकिन पुग्यो ।
बार्सिलोनाका लागि पहिलो हाफमा भिल्लारियलविरुद्ध जेरार्ड पिकेले गोल गरे । दोस्रो हाफको ८७ औं मिनेटमा लियोनेल मेसीको सुन्दर पासमा लामासियाका खेलाडी कार्लोस एलिनाले राम्रो फिनिसिङ गर्दा बार्सिलोनाले २–० को जित दर्ता गरेको हो ।
लिगका १४ खेल सकिंदा बार्सिलोना २८ अंकसहित पहिलो स्थानमा उक्लिएको छ । सेभिल्लाका लागि पनि ७८ औं मिनेटमा एडेरले गोल गरेपछि खेल एकएक गोलको बराबरीमा सकियो । त्यसपछि सेभिल्लाविरुद्ध अलाभेसका रोड्रिगेजले ३७ औं मिनेटमा अग्रता दिलाएका थिए ।
एथलेटिकोलाई आत्मघातीले राहत
यता जिरोनासँग हारतर्फ अघि बढेको एथलेटिको म्याड्रिड पनि जिरोनाका रामाल्लोले ८२ औं मिनेटमा गरेको आत्मघाती गोलले गर्दा तीन अंक गुमाउनबाट बच्दै एक अंक खोज्न सफल भयो । हारतर्फ अघि बढ्दै गर्दा सोही आत्मघाती गोलले गर्दा खेल एकएक गोलको बराबरीमा सकियो ।
दबाब दिंदै रियल
पछिल्लो समय जितको लय देखाउँदै आएको रियल म्याड्रिडले पनि बार्सिलोनालाई पछ्याइरहेको छ । अघिल्लो दिन भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोलले पराजित गरेको थियो । रियल बार्सिलोनाभन्दा पाँच अंकले पछाडि पर्दै अंक तालिकामा २३ अंकसहित पाँचौ स्थानमा छ । रियल अघि २४ अंक भएको अलाभेस चौथो, २५ अंक भएको एथलेटिको तेस्रो र २७ अंक भएको सेभिल्ला दोस्रो स्थानमा छन् ।