‘गुण्डा नाइके राधे’ सहित कांग्रेस नेताले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

diyopost.com
Diyo post  सोमबार, मंसिर १७, २०७५ | १९:५१:२१

धादिङ, १७ मंसिर । कुनैसमय गुण्डागर्दी र हप्ता अशुलीमा निकै चर्चामा रहेको नाम हो राधाकृष्ण भण्डारी उर्फ राधे । धादिङ र आसपासका जिल्लालाई आधार बनाएर गुण्डागर्दीमा क्रियाशिल रहेका राधाकृष्ण भण्डारी नेतृत्वको एक समुहले धादिङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
देशमा बढेको दण्डहिनता, महंगी, भ्रष्टाचार तथा न्याय सम्पादनमा ढिलाई लगायत समसामयिक विषयलाई आधार बनाएर नेपाली कांग्रेसको भातृ नेपाल तरुण दल धादिङ जिल्लाले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध तथा स्मरण पत्र बुझाएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति रमेश धमला र उपसभापति भक्त लामासहित जिल्ला प्रशासन कार्यालय आएका राधाकृष्ण भण्डारी धादिङ तरुण दलका उपाध्यक्ष हुन् ।

उनकै अगुवाईमा तरुण दललले ५ बु“दे ज्ञापन पत्र बुझाएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले उक्त विज्ञप्ति बुझेका थिए ।

ज्ञापन पत्रमा तरुणदलले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउनु पर्ने, दशैं तिहार लगायतका सांस्कृतिक पर्वमा दैनिक उपभोग्य वस्तु, लगायत निर्माण सामाग्रीको चरम मुल्यवृद्धि भए पनि सरकारले वेवास्ता गरेकोले मुल्यवृद्धि तत्काल फिर्ता गर्नु पर्ने, हरेक स्थानीय निकाय र सरकारी कार्यालयमा भएको व्यापक भ्रष्टाचार नियन्त्रणगर्नु पर्ने, हाल चर्चामा रहेको नेपाल वायु सेवा निगममा वाईडवडी विमान खरिद मा गरिएको घाटालाको निस्पक्ष छानविन र अपराधीलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने, राष्ट्रपतीका लागि खरिद गर्न लागिएको १८ करोडका गाडीहरु खरिद प्रकृय रोक्नु पर्ने उल्लेख छ ।

भण्डारी कुनै समय गुण्डा नाइके दिनेश अधिकारी चरीको समुहमा रहेर गुण्डागर्दीमा क्रियाशिल थिए । तर, उनको समुहमा खटपट भएपछि उनले उनै दिनेश अधिकारीलाई गोली प्रहार गरेका थिए ।

हतियारसहित पक्राउ परेका उनले आफूले बोकेको पेस्तोल चरीको हो भनेपछि चरि विरुद्ध हातहतियार मुद्दा लागेको थियो । पछिल्लो समय भण्डारी धादिङमै रहेर तरुण दल मार्फत गुण्डागर्दीमा समलग्न छन् ।

सम्बन्धित खबर