सामुदायीक वन क्षेत्रमा शौचालय बनाउन लागेपछि वन कार्यालयद्वारा निर्माण सामग्री नै कब्जा

Diyo post  

दियोपोस्ट संवाददाता

धादिङ, १९ मंसिर । धादिङको सिद्दलेक गाउँपालिका वडा नम्बर १ डुम्रे खोलामा निर्माण गर्न लागिएको अवैध शौचालय धादिङका डिभिजन वन प्रमुख रामहरी सेँडाईको सक्रियतामा हटाइएको छ ।

केही दिनअघि सिद्दलेक गाउँपालिकाका अध्यक्ष प्रमे कुमार सिलवाल र कार्यकारी अधिकृत लक्ष्मण प्रसाद भट्टराईको प्रत्यक्ष निर्देशनमा सामुदायीक वन क्षेत्र भित्र घर टहरा निर्माण गर्न लागिएको थाहा पाएपछि वन कार्यालयले सिमेन्ट बालुवा लगायत सामग्री कब्जा गरेको थियो ।

कब्जा गरिएको सामान फिर्ता गर्न जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले दबाव दिएका थिए । स्रोतका अनुसार गाउँपालिकाका कार्यकारी अधिकृत लक्ष्मण प्रसाद भट्टराईले जिल्ला डिभिजन वन प्रमुख रामहरी सेँडाईंलाई वन क्षेत्रमा शौचालय बनाउन पाउनु पर्ने भन्दै दबाव दिएका थिए ।

चौतर्फी दबाव दिएपनि डिभिजन वन प्रमुखले भने वन क्षेत्र भित्र शौचालय निर्माण गर्न नहुँने अडान राखेको जिल्ला प्रशासन कार्यालय धादिङका एक कर्मचारीले दियोपोस्टलाई बताए ।

 


कालुपाण्डे राजमार्ग स्थित डुम्रे खोला नजिकैको सामुदायीक वन क्षेत्रमा सिद्दलेक गाउँपालिकाले अवैध घर टहरा निर्माण गर्न थालेपछि गत वर्ष तत्कालिन वन प्रमुख इमानाथ पौडेलको नेतृत्वमा घर टहरा र शौचालय भत्काइएको थियो ।

केही महिना अघि वन प्रमुख पौडेलेको गोरखा सरुवा भएसँगै गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृतले ‘मौका’ छोप्दै फेरी वन अतिक्रमण गर्न लागि परेका थिए ।

तर, डिभिजन वन प्रमुख सेँडाइले थाहा पाए लगत्तै शौचालय निर्माण गर्न लागिएको सामग्री वन कार्यालयले कब्जा गरेको थियो ।

सिद्दलेक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भटुटराईले गाउँपालिकाले शौचालय बनाउनका लागि १ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको बताए । ‘यो क्षेत्रका मान्छेले सडक क्षेत्रमा फोहोर गरेका छन् । ३–४ सय बासीन्दाको नाका हो,’ उनले भने,‘उनीहरुको मागलाई ध्यानमा राखेर गाउँपालिकाले बजेट विनियोजन गरेको हो । हामीले रुख काट्ने छैनौँ । शौचालय मात्रै बनाउन लागिएको हो ।’

उनका अनुसार गाउँपालिकाले सोही स्थानमा घुम्ती पसल समेत सञ्चालन गर्न अनुमति दिएको थियो । तर, वन कार्यालयले वन क्षेत्र भित्र यस्तो कार्य गर्दा सामुदायीक वनमा क्षेति पुग्ने भन्दै रोक लगाएको थियो ।

सम्बन्धित खबर