काठमाडौं, २२ मंसिर । राप्रपा नेपालका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डे सहित २१ जना विरुद्ध भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको भन्दै कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पाण्डे विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
आयोजनाका तत्कालीन प्रमुखहरु सरोजचन्द्र पाण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको छ ।
सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
पटक पटक मन्त्री भएका पाण्डे यसअघि भौतिक योजना तथा निर्माण मन्त्री थिए । उनै पाण्डेको स्वामित्वमा रहेको कालिका कन्स्ट्रक्सन र सिटिआई जेभीले उक्त आयोजना निर्माण गर्ने ठेक्का पाएको थियो ।
उनी विरुद्ध आयोगले २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ ३१ पैसा भ्रष्टाचार गरेको भन्दै त्यति नै विगो दाबी गरेको छ ।