काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो नयाँ पुस्तक लिएर आउँदैछन् ।
‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ (पुनर्निर्माणको मार्गचित्र) पुस्तक लिएर आउँदै गरेको जानकारी पौडेल स्वंयले दिएका छन् । सामाजिक संजाल फेसबुकमा पौडेलले पुस्तकको कभरको फोटो हाल्दै लेखेका छन् ‘मेरो नयाँ कृति ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ – कांग्रेसको अवको बाटो अर्थात् कांग्रेस पुनर्निर्माणको मार्गचित्र छिट्टै सार्वजनिक हुँदैछ । जय नेपाल !’
के–के आउँदैछ पौडेलको पुस्तकमा ?
गत स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचनमा कांग्रेसले अनपेक्षित पराजय बेहोर्नुपरेपछि र पछिल्ला वर्ष कांग्रेस विचार, विधि र प्रक्रियामा चुक्दै गएपछि अब के गर्ने भन्ने विषयलाई पौडेलले पुस्तकमा उल्लेख गरेको उनका सहयोगी चिरञ्जीवी अधिकारीले दिए ।
पुस्तकमा कांग्रेसले आगामी दिनमा लिनुपर्ने बाटो, प्रतिपक्षीसँगको सामना कसरी गर्ने, कांग्रेसको रणनीति के हुने, युवा, महिला, मजदुर र नेता कार्यकर्तालाई परिचालन गरी कसरी प्रभावकारी कांग्रेस बनाउनेसहितका विषयहरु पुस्तकमा समेटिएको जानकारी अधिकारी दिए ।
मुख्यगरी जनताबीच कांग्रेसलाई लोकप्रिय गराउँने गरी पौडेल स्वंयमले पुस्तक तयार गरेको जानकारी अधिकारीले दिए । पुस्तक ५० पृष्ठभन्दा माथिको हुने उनी बताउँछन् । २८ मंसिरदेखि काठमाडौंमा सुरु हुने महासमितिको बैठकलाई लक्षित गर्दै पौडेलले पुस्तक प्रकाशन गर्न लागेका हुन् ।