काठमाडौँ, मंसिर २२ । एभरेष्ट प्रिमियर लिगको तेस्रो संस्करण अन्तर्गतको पहिलो खेल बिराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स बिच शुरु भएको छ । इपिएलको यस सिजनको उद्घाटन खेलमै पारस खड्का र ज्ञानेन्द्र मल्ल आमनेसामने भएका हुन् ।
किर्तिपुरको टियू मैदानमा दिउँसो १ बजेबाट भएको खेलको शुरुवातमा टस जितेर ललितपुरले ब्याटिङ रोजेको हो । राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोलीमा सन्दीप लामिछाने, ललित राजवंशी, शंकर राना, सोनु तामाङ, कुशल भुर्तेल, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, सुमित झा, राशिद खान, पवन सर्राफ, कमल खत्री लगायतका नेपाली खेलाडीहरु छन् । इपीएलमा तीन जनासम्म विदेशी खेलाडीलाई राख्न पाउने प्रावधान अनुसार ललितपुरले भारतका सन्नी पटेल, जयकिसन कोल्सावाला र गौरव टमोरलाई अनुवन्धित गरेको छ ।
गतवर्षको इपिएल विजेता बिराटनगर वारियर्स राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा छ । पछिल्लो बर्षको च्याम्पियन भएकै कारण पनि विराटनगरलाई एक किसिमको दवाव छ । विराटनगर वारियर्समा कप्तान पारस खड्कासहित बसन्त रेग्मी, अनिलकुमार शाह, असिफ सेख, रामनरेश गिरी, प्रनित थापामगर, पुष्प थापा, आकाश विष्ट, हरी चौहान, सुमित महर्जन लगायतका खेलाडीहरु छन् । त्यस्तै विदेशी खेलाडीहरुमा हङकङका बाबर हायत, नेदरल्याण्ड्सका पाउल भेन म्याकेरन र भारतका स्मित पटेल रहेका छन् ।