काठमाडौ, मंसिर २८ । काठमाडौँमा जारि टिभिएस एभरेष्ट प्रिमियर लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन टाईगर्सले विराटनगर वारियर्ससामु १ सय ९७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारि खेलमा चितवनले २० ओभर खेल्दै १ सय ९६ रन बनाउन सफल भएको हो । विराटनगरसामु फराकिलो लक्ष्य प्रस्तुत गर्नका लागि चितवनका खेलाडी जोन सिम्पसनले सर्वाधिक ७८ रनको योगदान दिए । उनले ४४ बलमा पाँच छक्का र ६ चौका प्रहार गरेका थिए । त्यस्तै कप्तान दिपेन्द्रसिंह ऐरिले ३२ रन बनाउँदा सन्दीप सुनार र जर्ज स्कटले ३० र २४ रनको योगदान गरे । पाउल स्टर्लिङले भने १५ रन मात्र जोडे ।
विराटनगरका पारस खड्का, बसन्त रेग्मी, करण केसी र एक विदेशी खेलाडीले एक एक विकेट लिएका छन् । अपराजित यात्रा कायम राख्दै आएको विराटनगरका लागि आजको खेल चुनौति बन्ने देखिएको छ । चितवनविरुद्ध ब्याटिङ गरिरहेको विराटनगरले ४ ओभरको खेल सकिँदा ३४ रन बनाएको छ । टिमको ओपनिङ ब्याट्सम्यानको रुपमा कप्तान पारस खड्का र अनिल शाह छन् । विराटनगरलाई आजको खेल जित्नको लागि प्रतिओभर १० रनको खाँचो पर्दछ ।
विराटनगरमा पारस खड्का, करण केसी, बसन्त रेग्मी र स्मित पटेल आश गरिएका खेलाडी हुन् । तर पारस खड्का भने पवेलियन फर्किसकेका छन् । उनलाई चितवनाका विनोद भण्डारीले बोल्ड गरेका हुन् । पारस १५ बलमा १ छक्का र २ चौकासहित १९ रनको योगदान दिँदै बाहिरिएका छन् । अहिले हङकङका खेलाडी बबर हायत क्रिजमा उत्रिएका छन् ।