काठमाडौँ, मंसिर २८ । एभरेष्ट प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा काठमाडौँ पाँच विकेटले विजयी भएको छ । काठमाडौँसंगको पराजयपश्चात पोखराको यात्रा समाप्त भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । पोखराका लागि रिचर्ड लेभिले ३८ रन बनाए भने कप्तान कयल कइट्जरले ३७ रन बनाउँदा पउल कफ्लिनले ३७ रनको योगदान दिए । विनोद भण्डारी १७ रनमा आउट हुँदा सुनील धमलाले ९ रनमात्र बनाए ।
काठमाडौँका लागि केभिन ओब्रियन र बिक्रम भुसालले समान २÷२ विकेट बनाए भने रोशन मुस्ताफा र संसद शेखले १÷१ विकेट लिए ।
पोखराले दिएको लक्ष्य पछ्याउने क्रममा काठमाडौँका केभिन ओब्रियनले अर्धसतक बनाए । उनले ३५ बलमा ३ छक्का र ४ चौका प्रहार गरि कुल ५४ रनको योगदान दिए । अर्का खेलाडी रोशन मुस्ताफाले ४० रन बनाउँदा सुब्रमनियम आनन्दले २७ रन बनाए । त्यस्तै सागर पुनले १८ रन बनाए भने अमित श्रेष्ठले ११ रन बनाए ।
पोखराका लागि बिक्रम सवले २ विकेट लिए भने शुसन भारी र शक्ति गौचनले १–१ विकेट लिए ।