काठमाडौँ, मंसिर २८ । पुँजी बजारको सुधारको माग राख्दै छ दिनदेखि अनसनमा बसेका लगानीकर्ताहरुलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले पत्र प्रकाशन गर्दै आन्दोलनमा रहेका लगानीकर्ताहरुलाई छलफलको लागि बोलाएको हो ।
पुँजी बजारमा अनलाईन प्रणाली भित्रिएपछि नेप्से परिसुचक अनपेक्षित रुपमा घट्न थालेको थियो । पुँजी बजारमा आफ्नो लगानीको सुरक्षा हुनुपर्ने , अनलाइन प्रणाली लागु गरिएपछि त्यसलाइ व्यवस्थित बनाउनुपर्ने सहितको विभिन्न १२ मागहरु राख्दै रिले अनसन गर्दै आइरहेका छन् । नेपाल स्टक एक्सचेञ्जको गेटअगाडी बसेको धर्ना तथा अनसनलाई विभिन्न राजनीतिक ब्यक्तिहरुले समेत ऐक्यवद्धता जनाएका थिए ।
शुक्रबार पत्र प्रकाशित गर्दै महाशाखाले वार्ताको लागि शनिबार दिउँसो २ बजे बोलाएको छ । पछिल्लो समय पुँजीबजारमा एक्कासी देखिएको गिरावटको कारण तथा वित्तिय बजारमा देखिएका अन्य समस्याहरु पहिचान गरि सात दिनभित्र सुझाव पेश गर्न नेपाल राष्ट्र बैँकको डेपुटी गभर्नर शीवराम श्रेष्ठको नेतृत्वमा उच्चस्तरिय समितिसमेत बनिसकेको पत्रमार्फत जानकारी गराएको छ । महाशाखाले आन्दोलि पक्षबाट बढीमा पाँच जनाको प्रतिनिधीलाई छलफलमा सहभागी हुन आग्रह गरेको छ ।