नुवाकोट, २९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शोराज नामको मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । १६ जना गम्भिर घाइते भएका छन् ।
शुक्रबार राति उपचारको क्रममा थप एकजनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइते १६ जनामध्ये केहीको त्रिवि शिक्षण अस्पताल, केहीको ग्राण्डी अस्पतालसहितका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बा ३ ख ३९१३ नम्बरको श्वराज ट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईका अनुसार ४५ जनाभन्दा धेरै सर्वसाधारण ट्रकमा चढेका थिए । अहिलेसम्म १९ जनाको ज्यान गएको पुष्टि भइसकेको छ ।
खोँच रहेको उक्त क्षेत्रमा दुर्घटना भएकाले रातिको समयमा अँध्यारो भएर खोजी रोकिएको थियो । तर शनिबार बिहानैदेखि फेरि खोजी भइरहेको प्रहरीले बताएको छ । सिसिफुका सर्वसाधारण चढेको मिनी ट्रक दुर्घटनामा परेको हो ।
ट्रकको डालोमा धेरै यात्रु रहेको प्रहरीले जनाएको छ । ट्रक करिब ५ सय मिटर तल खसेको हो । दुर्घटनास्थल सदरमुकामबाट ४ घण्टाको पैदल दूरीमा रहेको छ ।
शुक्रबार रातिसम्म तीन मृतकको मात्रै सनाखत भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । उनका अनुसार शिखरबेसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीका ३६ वर्षीय रिबल तामाङ र ३७ वर्षीय आइत तामाङको सनाखत भएको छ ।