अमेरिकामा पनि नेपाली असुरक्षित :आफन्त गुमाएका परिवारको बिचल्ली

अमेरिकामा पनि नेपाली असुरक्षित :आफन्त गुमाएका परिवारको बिचल्ली

न्यूयोर्क, काठमाडौं, २९ ।  केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको ‘सुनोको ग्यास स्टेसन’मा कार्यरत ४० वर्षीय रेशम बजगाईंको हत्या भयो। लुटेराहरूको समूहले टाउकोमा धारिलो हतियार प्रहार गरी बजगार्इंको हत्या गरेका थिए। ६ वर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो।

भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि गोली प्रहार भयो। स्थानीय ‘बडिज ह्यान्डी मार्ट ग्यास स्टेसन’मा दिउँसो सवा १२ बजे काला जातिका एक लुटेरा आएर अन्धाधुन्ध बन्दुक चलाउ“दा श्रेष्ठमाथि आठ गोली लाग्यो। पिठ्यूँ, पाखुरा, गाला, पेट, कम्मर र मुटुको तल्लो भागमा गोली लागेकी उनी उपचारपछि घर फर्किएकी छिन्। साढे दुई वर्षको छोरा र श्रीमान्सहित उनी पनि ११ महिनाअघि मात्रै अमेरिका आएकी थिइन्।

जनवरीमा टेक्सासको ब्रोडवे ब्लुबर्डनजिकै ग्यास स्टेसनमा काम गर्ने ३५ वर्षीय मनीष पाण्डेको हत्या भयो। मध्यराति स्टोरमा काम गरिरहेका बेला लुटेराहरू छिरेर उनीमाथि अन्धाधुन्द गोली चलाएका थिए।

तीन महिनाअघि मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा ४१ वर्षीया बृन्दा गिरीको मत्यु भयो। घटनामा गिरीसहित अन्य तीन जनाको ज्यान गएको थियो। दुई सन्तानलाई लिएर उनी ६ महिनाअघि मात्र अमेरिका आएकी थिइन्।

सन् २०१८ मा मात्र अमेरिकामा बसोवास गर्ने नेपालीमाथि भएका जघन्य हिंसाका घटना हुन् यी। ग्यास स्टेसन र स्टोरमा काम गर्नेहरूले सामान्य गाली र ज्यान मार्नेसम्मका धम्की पाउनु यहाँ सामान्य जस्तै हो।

हिंसामा पर्नेमा नेपाली मात्र भने छैनन्। गरिब र निम्न आय भएका मुलुकबाट आएका सबै आप्रवासीको नियति हो यो। अमेरिकामा काम नगरी बा“च्न सम्भव छैन। भर्खरै आएकाहरू, अन्य सीप नभएका र अंग्रेजी भाषामा दख्खल नभएकाहरू ग्यास स्टेसन तथा स्टोरहरूमै काम गर्न बाध्य हुन्छन्। तुलनात्मक रूपमा बढी जोखिम पनि यिनै क्षेत्रमा छ। अमेरिकामा ग्यास स्टेसनमा पेट्रोल, डिजेलसहित चिया, कफी, चिसो पेयपदार्थ, चुरोट, सामान्य खाजा एवं एटीएम मेसिनलगायत उपलब्ध हुन्छ।

परिवारको सुनौलो भविष्यको सपना बोकेर अमेरिका आउनेहरूको जीवन हिंसाका घटनाले उजाड बनाइदिने क्रम बढ्नुलाई यहा“को प्रशासनले प्रमुख चुनौती मानेको छ। विशेषगरी साना नानी लिएर आएका दम्पतीमध्ये एकको मृत्यु भए त्यो परिवारको दुःख बयान गरिनसक्नु हुन्छ। छोराछोरी साना हुनेहरूले अमेरिकामा पालो गरेर बच्चा हेर्ने र काम गर्दै गर्छन्। श्रीमान् काम सकेर फर्किएपछि बालबच्चा जिम्मा लगाएर श्रीमती काममा निस्किन्छिन्। यसरी चलिरहेको परिवारमा एक जनालाई केही हुनेबित्तिकै अर्को व्यक्ति पनि काममा जानै सक्दैन। छोराछोरीलाई ‘डे केयर सेन्टर’मा राखेर काम गर्नु सामान्य आय हुनेहरूका लागि पहु“चबाहिरको कुरा हो। यसले परिवारको दैनिकी गुजारामै गम्भीर आर्थिक समस्या निम्त्याउ“छ।

अमेरिकामा यस्ता हिंसापीडितले राज्यबाट सहयोग पाउने व्यवस्था छैन। ‘कुनै दुर्घटनामा मानवीय क्षति भए अमेरिकी सरकारले यति रकम क्षतिपूर्ति दिन्छ भन्ने प्रावधान छैन,’ भर्जिनिया र ओक्लोहमा घटनामा पीडितलाई सहयोग जुटाउन सक्रिय गुणराज लुइँटेलले भने, ‘प्रत्येक घटनाको प्रकृति हेरेर थोरै केही सुविधा दिन सक्छ। तर त्यो लिन पनि सहज छैन।’

मृतकको काम अस्थायी वा स्थायी भन्ने विषयले पनि निकै फरक पार्छ। घटनाको प्रकृति कस्तो छ भन्ने विषयमा अनुसन्धान हुन्छ। स्थानीय प्रहरी प्रशासन, काउन्टी र सरकारले सुरक्षा दिन नसकेको अवस्था ठहर भए मृतक परिवारलाई काजकिरियाका लागि निःशुल्क ठाउ“ उपलब्ध गराउने, कतिपय अवस्थामा न्यूनतम काजकिरिया खर्चसम्म पाउन सक्ने व्यवस्था रहेको लुइँटेलले जानकारी दिए।

‘तर ती सुविधा लिन निकै मुस्किल छ’, उनी भन्छन्, ‘आफ्नो मान्छे गुमाएको पीडाले छटपटाइरहेको अवस्थामा फलानो ‘पेपर साइन’ गर, फलानो कागज तयार गर भन्न सक्ने अवस्था हु“दैन। धेरै किसिमका कागजात जुटाउनुपर्ने र धेरै पहल गर्नुपर्ने भएकाले अधिकांश पीडित परिवारले यस्तो सुविधा लिनै सक्दैनन्। भर्जिनियाको घटनामा पनि मृतक परिवारले राज्यबाट केही पाएनन्।’

भर्जिनिया घटनामा मृतकले ग्यास स्टेसनमा साताको एक दिन मात्रै काम गर्ने भएकाले रोजगारदाताबाट सामान्य क्षतिपूर्ति पाउन पनि अप्ठ्यारो परेको थियो। मृतकले ‘फुलटाइम’ काम गर्ने अर्को कम्पनीले पनि आफ्नो पेरिफेरीमा घटना नभएको भन्दै क्षतिपूर्ति दिन अस्वीकार ग¥यो।

गम्भीर हिंसाको घटनामा परेर बा“च्न सफल भाग्यमानीमा पर्छिन्, २४ वर्षीया ज्वाला कार्की। एक वर्षअघि टेक्सासको अर्भिङमा उनलाई आफू बस्ने घरकै तल कपडा धुने (लन्ड्री रुम) ठाउ“मा फोन र पर्स माग्दै १५ वर्षीय युवकले गोली हानेका थिए। सात वटा गोली लागेकी कार्कीको फोक्सो र पेटबाट गोली निकाल्न छातीदेखि नाइटो भन्दा तलसम्म चिरेर लामो शल्यक्रिया गर्नुपरेको थियो।

मृतकको सवालमा परिवारलाई अमेरिकी सरकारले कुनै ठूलो राहत नदिए पनि घाइतको निःशुल्क उपचार र काम गर्न जान नसकेको अवधिबराबरको क्षतिपूर्ति भने दिने सञ्चारकर्मी रामचन्द्र भट्टको अनुभव छ। उनी आफैं सन् २०१४ मा ग्यास स्टेसनमा काम गरिरहेको बेला लुटेराहरूको कुटपिटबाट मरणासन्न अवस्थामा पुगेका थिए। ‘विशेषगरी नगदमा कारोबार गर्ने स्टोर, पसल र ग्यास स्टेसनहरूमा यस्ता घटना भइरहन्छन्। नेपाली पीडित भएका घटना छिटो सुन्ने भएकाले बढी परिरहेका छन् कि भन्ने लागेको हो’, उनले भने। यस्ता घटनामा काम गर्ने व्यक्ति आफैं सचेत हुनुपर्ने उनको भनाइ छ।

यस्ता ठाउ“मा काम गर्न जानुअघि त्यो स्टोर कस्तो ठाउ“मा छ ? काउन्टर बुलेट पु्रफ सिसाले बारेको छ÷छैन, स्टोरमा मान्छेको कत्तिको चहलपहल हुन्छ, वरपरको सुरक्षा कस्तो छ भन्नेबारे बुझ्न आवश्यक हुने उनको सुझाव छ। काम गर्दा सधैं चनाखो हुनुपर्ने, काउन्टरमा सकेसम्म कम पैसा राख्ने, लुटेरा लुट्न आए प्रतिकार नगर्ने, प्रहरीलाई फोन नगर्ने, बरु हा“सेर ‘मलाई केही नगर, सबै पैसा लैजाऊ’ भनिदिने जस्ता व्यवहार गर्दा तुलनात्मक रूपमा जोखिम कम हुने उनी बताउ“छन्।

अमेरिकामा १८ वर्ष उमेर पुगेको व्यक्तिले सहजै बन्दुक किन्न सक्छन्। त्यसैले त्यसको दुरुपयोगका घटना दोहोरिने गरेका हुन्। लुटेरा एवं हिंसाविरुद्धको कारबाहीलाई अमेरिकी प्रहरीले प्राथमिकतामा राखेको त छ। तर तिनको जोखिम घटेको छैन। अमेरिकामा प्रहरी कारबाहीमा लुटेरा पक्राउ पर्ने र सर्वसाधारण मारिने घटना भइरहन्छन्। यस्ता घटना बढी हुने राज्यमा शान्तिसुरक्षाको प्रत्याभूति प्रमुख राजनीतिक एजेन्डाकै रूपमा स्थापित छ।

अमेरिकामा बन्दुक हिंसा र लुटेराको आक्रमणबाट कति नेपालीको हत्या भयो भन्ने यकिन तथ्यांक छैन। सन् २०१५ जुनमा टेक्सासमा आफंै स्टोर सञ्चालन गरिरहेकी व्यवसायी समिरा शिवाकोटीलाई काम गरिरहेकै अवस्थामा लुटटेराहरूले गोली हानेका थिए। श्रीमतीको मृत्युपछि विचलित ३८ बर्से श्रीमान् नवराज शिवाकोटीले एक वर्षपछि आत्महत्या गरेका थिए। बाबुआमा दुवैको मृत्यु भएपछि अमेरिकामा हुर्किरहेका साना दुई छोरी टुहुरा भए।

सन् २०१५ कै जुलाई २१ मा अर्का एक नेपालीको पनि हत्या भएको थियो। भुटानी शरणार्थीका रूपमा अमेरिका आएका जित मगरको मिस्क्वाइट टेक्सासको ग्यास स्टेसनबाहिर हत्या गरिएको थियो। जुन २०१२ मा डेक्लाब काउन्टी जर्जियामा ३९ वर्षीय दामोदर पाठकको ग्यास स्टेसनमा हत्या भएको थियो। त्यसअघि सन् २०१३ फेब्रुअरीमा न्युजर्सीका बालकृष्ण कार्कीको हत्या भएको थियो।

० प्रतिक्रिया




ट्रेन्डिङ