पैसा मर्दा यस्तो हुने रहेछ !

हानी कार्मुत  

सम्झनुहोस् त ! तपाई अहिले गाजामा हुनुहुन्छ । साथै एक किलो पिठो किन्न खोज्दै हुनुहुन्छ । आफ्नो खल्तीमा हेर्नुभयो । के छ त्यहाँ? जम्मा १० शेकेल(इजरायली मुद्रा) मात्रै छ । त्यो पनि च्यातिएको अवस्थामा छ । बल्लतल्ल टेप लगाएर जोडिएको छ । तर यस्तो पैसा त्यहाँ कसैले लिन मान्दैन । अब तपाइसँग भएको पैसा बेकार भएको छ ।

आजको दिनमा गाजाको अवस्था ठिक त्यस्तै छ । सामान्यतः १० शेकेलको मूल्य करिब तीन अमेरिकी डलर बराबर हुन्छ । कुनै समय गाजाको दैनिक जीवनमा सबैभन्दा धेरै चलनचल्ती हुने मुद्रा पनि यही हो । आधिकारिक मुद्रा नभनिएता पनि व्यवहारिक रूपमा यसकै चलन हुने गरेको थियो । अहिले आएर यसले आफ्नो पहिचान गुमाएको छ । बिक्रेताहरू यसलाई लिन मान्दैनन् । क्रेताहरू यसको प्रयोग गर्न सक्दैनन् । बजारमा कुनै नयाँ नोट उपलब्ध छैनन् । नयाँ नोटले पुराना नोटलाई विस्थापित गर्न पाएको छैन ।

अन्य बैंकनोटहरु, विशेष गरी साना नोटहरूले पनि १० शेकेलको जस्तै नियति भोगिरहेका छन् । बजारमा गएर तपाईँले ८० शेकेलको सामान खरिद गर्दा १ सय शेकेल दिनुभयो भने साहुजीलाई बाँकी २० शेकेल फिर्ता दिन धेरै गाह्रो छ । उनीहरूसँग भएका साना नोटहरू सबै झुत्रा भइसकेका छन् । धेरैजसो नोट च्यातिएका छन् वा नोटहरू टेपले जोडिएका छन् । च्यातिएका नोट मर्मत गरेर पुनः प्रयोग गर्न सकिने बनाउनकै लागि भनेर पनि केही पसलहरू सञ्चालन भइरहेका छन् । केही नहुनुभन्दा त यस्तो कामले पनि सहायता पुग्दो रहेछ ।

तर गाजामा नोट थोत्रा हुने समस्या भन् आजको होइन । सरकारी कर्मचारीहरूले तलब नपाएको महिनौं भइसक्यो । गैरसरकारी संस्थाहरू आफ्ना कामदारको खातामा तलब हाल्न असमर्थ छन् । टाढा काम गर्दै गरेका कामदारहरूले आफ्नो परिवारमा रेमिटेन्स पठाउन सकेका छैनन् । गाजाको वित्तीय संरचना धान्दै आएको रेमिटेन्स हराएको छ । अब कहिलेबाट पुनः सुचारु हुन्छ भनेर सोध्दा कसैले जवाफ दिन सक्दैन । चौतर्फी मौनता छ । अहिले पैसा आफै अप्ठेरोमा परेको छ । बन्द प्रणाली र राजनीतिक अवरोधको बिचमा फसेको छ ।

रमल्लाह वा इजिप्ट लगायत गाजा भन्दा बाहिर रहेका आफन्तले तपाईँलाई पठाएको पैसा पाउन सफल हुनुभयो भने पनि ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ । निर्मम मूल्य चुकाउनुपर्छ । तपाईँलाई कसैले १ हजार शेकेल पठाएको छ भने बिचौलियाले ५०० शेकेल मात्रै दिन्छ । आफ्नै पैसा पाए बापत अहिले गाजामा ५० प्रतिशत कमिसन तिर्नुपर्ने हुन्छ । अहिले यहाँ बाहिरबाट पैसा पठाउन मिल्ने र त्यहाँ राखेको पैसा झिक्न मिल्ने कुनै बैङ्क छैन । केबल साइनबोर्ड मात्रै बाँकी छन् । बैङ्क अफ प्यालेष्टाइनु, कायरो अम्मान बैङ्क, अल कुद्स बैङ्क, सबैका कार्यालय त छन् । तर सबैका ढोका बन्द छन्, झ्यालमा धुलो लागेको छ, भित्र सबै खाली छन् । कुनै पनि एटिएमले काम गर्दैन ।

अब केबल बिचौलिया मात्रै छन् । केही यस्ता बिचौलियाहरू काला बजारी तथा तस्करीसँग जोडिएका छन् । उनीहरू केही नगदको जोहो गर्न सक्छन् । यस्तो पैसा अरूलाई दिनुपर्दा ठुलो मात्रा कटौती गरेर दिन्छन् । नगद हस्तान्तरणको बैङ्कको भूमिका उनीहरूले नै गर्छन् । उनीहरूको सञ्जालबाट आफ्नै पैसा निकाल्न पनि चोरले आफ्नो पैसा चोरेर लगेको भान हुन्छ । यति हुदाँहुदै पनि मानिसहरू त्यही प्रणाली प्रयोग गर्न बाध्य छन् । उनीहरूसँग कुनै विकल्प छैन् । उनीहरूसँग आफ्नो बैङ्कको कार्ड त छ । तर प्रयोग गर्न मिल्दैन ।

त्यस्ता कार्डले केही काम गर्दैन । इन्टरनेट छैन्। विद्युत छैन् । पैसा निकाल्न मिल्ने कुनै उपकरण छैन् । पसलेसामु तपाईँले कार्ड देखाउनुभयो भने उनीहरू अस्वीकृति सूचक ढङ्गले टाउको हल्लाउँछन् । मानिसहरू आफ्नो बैङ्क खातामा भएको तर अहिले झिक्न नसकिएको नगद विवरणको स्कृनसर्ट बोकेर हिँडेका हुन्छन् । कोही त आफ्नो बैङ्क सम्बन्धी सबै दस्ताबेज बोकेर हिँड्छन् । उनीहरूलाई आफूसँग बैङ्कमा भएको नगद देखाउँदा कोही पसले उधारो दिने भेटिएला कि भन्ने आशा छ । तर उनीहरूलाई कसैले उधारोमा विश्वास गर्दैन ।

थोरै व्यापारीले डिजिटल वालेटको कारोबार स्वीकार गर्छन् । तर त्यस्तो वालेट हुनेहरू पनि एकदमै सीमित सङ्ख्यामा मात्रै छन् । आजको दिनमा गाजामा तपाईँको पैसा हातले छुन सक्ने अवस्थामा छैन् भने तपाइसँग पैसा नभएकै जस्तो मानिन्छ । यस्तो अवस्थाबाट आक्रान्त मानिसहरू बिस्तारै अन्य माध्यमतर्फ लाग्न थालेका छन् । बजारमा एक जना महिला हातमा प्लास्टिकको झोलाभरि चिनी बोकेर उभिएकी थिइन । अर्को महिला खाने तेलको बोतल बोकेर आइन् । उनीहरू धेरै कुरा गर्नेमा लागेनन् । साटासाट गरे । आपसमा छुटिहाले । आजको दिनमा गाजामा यसैगरी किनमेल चल्दै छ । तपाइसँग जे छ त्यही बेच्ने हो । दुई किलो पिठो र एक किलो दाल साटासाट हुन्छ । एक बोतल ब्लिचले थोरै चामल आउँछ । केही प्याज दियो भने बच्चाको ज्याकेट किन्न सकिन्छ ।

बजारमा मूल्यको स्थायित्व पटक्कै छैन् । एक दिन तपाइसँग भएको वस्तुको मोल राम्रो छ तर अर्को दिन त्यसलाई कसैले नलिन सक्छ । मोल विशुद्ध अनुमानको भरमा मूल्य तय हुन्छ । केवल भावनात्मक आधारमा मूल्य तय हुन्छन् । जुनसुकै वस्तुमा लेनदेन सम्झौता हुन सक्छ । मेरो काका वालिद दुई सन्तानका पिता हुन् । उनी आफ्नो अनुभव सुनाउँदै भन्छन् मैले बच्चाको लागि एक पोका डाइपर लिनका लागि आफ्नो कोट दिए । उनी भावुक हुँदै सम्झिन्छन् ‘उसले मलाई भिखारी जस्तै मानेर हे¥यो । मलाई आफ्नै जीवनको टुक्रा छोडेर आए जस्तै नमिठो अनुभव भयो ।’

यो कुनै सामान्य समयको चर्चा होइन । प्रणाली नै हराएको अवस्थामा यस्तो हुने रहेछ । जब पैसा मर्छ यस्तो हुने रहेछ । मानिसहरू आफ्नो अस्तित्व जोगाउन आफ्नै अस्मिता त्याग्न बाध्य हुँदा रहेछन् । यहाँ मानिसहरू पीडित मात्रै छैनन् । उनीहरू मानसिक रूपमा थप साँघुरो हुँदै गएका छन् । उनीहरूका आकाङ्क्षा घटेका छन् । उनीहरूले सपना देख्न छोडिसके । योजना बनाउन छोडिसके । तपाईँलाई अब आउने दिन धान्न त गाह्रो हुँदै छ भने कसरी भविष्यको योजना बनाउन सक्नुहुन्छ होला?

पालमुनि जीवन काटिरहेकी मेरी छिमेकी लिना भन्छिन् अल्लि पहिले आफ्नो सुनको चुरा मैले बेचिदिए । त्यो मैले अप्ठेरो परेको भनेर बेचेकी थिए । तर अब त हरेक दिन आपत् पर्न थालेको छ । गाजाको अर्थतन्त्र कुनै खराब नीति वा आन्तरिक व्यवस्थापनको असफलताका कारण ध्वस्त भएको होइन । यसलाई तोकेरै ध्वस्त पारिएको हो । जबरजस्ती कब्जा जमाइरहेकाहरूले केबल वस्तु तथा सेवामा मात्रै प्रवेश रोकेका छैनन् । उनीहरूले नगद र वित्तीय क्षेत्रमा पनि हामीलाई नाकाबन्दी लगाएका छन् । यसले गर्दा हाम्रो बैङ्किङ प्रणाली ध्वस्त भएको छ । जसका कारण तरलता पनि अर्को हतियार बन्न पुगेको छ ।

गाजामा नगद प्रवेश गर्न नदिने गतिविधि पनि व्यापक घेराबन्दीकै हिस्सा हो । मान्छेलाई मार्नका लागि गोली नै हान्नुपर्छ भन्ने छैन् । उनीहरूको बाँच्ने क्षमतालाई रोकिदिए पुग्छ । रोटी, पानी वा औषधी, केही पनि किन्न नसकेपछि कसरी जीवन धानिरहन सकिन्छ? यही अवस्था अझै निरन्तर चल्यो भने गाजा चाडै बार्टर (वस्तु विनिमय) प्रणालीमा फर्किने पहिलो आधुनिक समाज बन्दै छ ।

अब कसैले तलब पाउँदैनन् । कुनै आधिकारिक बजार छैन् । केबल व्यक्तिगत सट्टापट्टा र अनौपचारिक लेनदेनहरू मात्रै छन् । यस्तै प्रणाली कति दिन टिक्छ यसै भन्न सकिँदैन । किनभने आपसमा सट्टापट्टा गर्न चाहिने कुरानै सकिन थालेपछि के को विनिमय हुने होला? यसलाई बेलैमा सम्बोधन गरिएन भने गाजा केवल घेरामा परेको ठाउँ मात्रै रहँदैन । यो यस्तो ठाउँ बन्नेछ जहाँ पैसा, अर्थतन्त्र तथा निष्पक्षता जस्ता अवधारणा सँधैका लागि हराएर जानेछन् ।

(लेखक गाजाका क्रियाशिल पत्रकार हुन् । उनको यो लेख अल जजिरामा प्रकाशित छ । हामीले त्यहाँबाट नेपालीमा रूपान्तर गरेका हौँ ।)

सिफारिस