भारतमा नेपाली महिलाको हत्या गरेका पुरुष मृत फेला

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतको बेंगलुरुमा नेपाली महिला महालक्ष्मीको हत्यामा संलग्न व्यक्ति पनि मृत अवस्थामा फेला परेका छन् । उनी भारतकै ओडिसा राज्यको एउटा गाउँमा मृत फेला परेका छन् ।

प्रहरीले उनको खोजी गरिरहेको थियो । आफू पक्राउ पर्ने भएपछि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । ओडिसाको भद्रक जिल्लाको एउटा गाउँमा बुधबार रुखमा झुण्डिएको अवस्थामा आरोपितको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपितको नाम मुक्तिरन्जन राय हो । उनको एउटा डायरीसमेत बरामद भएको प्रहरीले जनाएको छ । डायरीमा उनले महालक्ष्मीको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको बताइएको छ ।

प्रहरीका अनुसार महालक्ष्मी र रन्जन सन् २०२३ देखि रिलेशनशिपमा थिए । दुवै एउटै मलमा काम गर्दै आएका थिए । २० सेप्टेम्बरमा बेंगलुरुस्थित आवासमा २९ वर्षीय महालक्ष्मीको शव विभत्स अवस्थामा फेला परेको थियो । उनको शव ५९ टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला परेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार तीन दशकअघि महालक्ष्मीका आमाबुबा रोजगारीको सिलसिलामा नेपालबाट बेंगलुरु आएर बस्न थालेका थिए । महालक्ष्मीको विवाह नेलमंगलामा बस्दै आएका हेमन्त दाससँग भएको थियो ।

सम्बन्धित खबर