काठमाडौँ, मंसिर २९ । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजिनामा दिएका छन् । पुर्व राष्ट्रपति समेत रहेका राजापाक्षेले शनिबार प्रधानमन्त्री पदबाट राजिनामा दिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तात्कालिन प्रधानमन्त्री रनिल विक्रमासिंघे लाई पदच्युत गरि राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए । त्यसपछि श्रीलंकामा सडक र सदनमा ध्वंसात्मक गतिविधि पनि भएका थिए । संसद भित्रै राष्ट्रपति सिरिसेनाले ठाडो हिसाबमा प्रधानमन्त्री बनाएको भन्दै सांसदहरुले नियुक्त भएको प्रधानमन्त्रीलाई आफ्नो समर्थन नरहेको बताएका थिए । तत्पश्चात राष्ट्रपति सिरिसेनाले संसदलाई विघटन गरिदिएका थिए ।
संसदको विघटन भएपछि श्रीलंकामा चरम राजनीतिक द्वन्द चर्किएको थियो । असन्तुष्ठ पक्षले राष्ट्रपतिको उक्त कदमबिरुद्ध त्यहाँको सर्वोच्च अदालतमा रीट दायर गरेका थिए । शुक्रबार सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई खारेज गरिदिएपछि प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिएका हुन् ।
सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो । अदालतले संसद् विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष पनि निकालेको अधिकारीहरुले जानकारी दिएका थिए ।
राजापाक्षेले राजिनामा दिएपछि श्रीलंकामा जारि राजनीतिक संकटमा केही समाधान निस्कने अस्थिर राजनीतिक व्यवस्थाको पनि अन्त्य हुनसक्ने संचारमाध्यमहरुले जनाएका छन् । राजापाक्षेका छोरा नमल राजापाक्षेले ट्वीटरमार्फत आफ्ना पिता महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएको सार्वजनिक गरेका छन् । आफ्ना पिताले देशमा राजनीतिक स्थायीत्वका लागि पनि प्रधानमन्त्री पदबाट राजीनामा दिएको उनले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
To ensure stability of the nation, Former President @PresRajapaksa has decided to resign from the Premiership tomorrow after an address to the nation. The SLPP with Frm President, SLFP & others will now work to form a broader political coalition with President Sirisena.
— Namal Rajapaksa (@RajapaksaNamal) December 14, 2018