धादिङ, पुस १ । धादिङको बेनिघाट रोराङ गाउपालिका २ ओवाङको एक घरबाट ६ सय केजी गाँजा वरामद भएको छ । गाँजासंगै बन्दुक र स्रोत नखुलेको लाखौँ रुपैयाँ समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख डम्बरबहादुर विकले बताएका छन् ।
जिल्ला प्रहरी कार्यलय धादिङ, प्रदेश प्रहरी कार्यलय हेटौँडा र जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको संयुक्त टोलीले ओवाङको एक घरबाट गाँजासहित पाँच थान भरुवा बन्दुक र करिव सात लाख स्रोत नखुलेको रकम नियन्त्रणमा लिएको हो ।
गाँजाको अवैध कारोबार भएको भन्ने गोप्य सुचनाको आधारमा परिचालित प्रहरीले कारोबारमा संलग्न तीन जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेनीघाट रोराङ गाउँपालिकाका गुञ्जबहादुर घलान, ठुलो कान्छा तामाङ र सानोकान्छा तामाङ रहेका छन् ।
ठुलो परिमाणमा गाँजा भेटिएपछि प्रहरीले सो कारोवारमा निकै ठुलो गिरोहको संलग्नता रहेको हुनसक्ने भन्दै तिब्र अनुसन्धान थालेको छ । गजुरीका प्रहरी निरिक्षक नवराज ढुंगेलका अनुसार पक्राउ परेका तीनै जनालाइ लागुऔषध ओसारपसार ऐन २०३३ र हातहतिहार खरखजाना ऐनअन्तर्गत मुद्धा लगाइने छ । उनिहरुको साथबाट भेटिएको ७ लाख ५० हजारको स्रोत नखुलेमा थप कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरी निरिक्षक ढुंगेलले बताएका छन् ।