काठमाडौँ, पुस । नेपाली कांग्रेसको विधानमा हिन्दु राष्ट्र लेख्नुपर्ने भन्दै काठमाडौँ क्षेत्र नम्बर ७ का महाधिवेशन प्रतिनिधि प्रशान्तमान सिंह नेतृत्वको एक समुहले दवाव दिएको छ । महासमिति वैठक चलिरहेको रामशाहस्थित यगम्बर पार्टी प्यालेस परिसरमा उक्त समुहले हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलनसमेत गरेका छन् ।
‘वैदिक सनातन हिन्दु राष्ट्र कायम गर’ लिखित पोस्टर टाँसेर हस्ताक्षर संकलन गरेको छ । कांग्रेसको विधान संगै संविधानमा समेत हिन्दु राष्ट्र कायम गराउनको लागि उक्त समुहले हस्ताक्षर संकलन गरेका हुन् ।
उक्त कार्यक्रममा तीन सय जनाले हस्ताक्षर समेत गरिसकेको प्रशान्तमान सिंहले बताएका छन् । माग गरिएको विषयलाई विधानमा उल्लेख गराउन तथा महासमिति वैठकमा छलफलको एजेण्डा बनाउनको लागि २५ प्रतिशत अर्थात ४ सय जनाको समर्थन चाहिने छ ।
‘जनतालाई सदैव सार्वभौम मान्ने हामी लोकतन्त्रवादीले धर्मका विषयमा बहुसंख्यक जनताको मागलाई सम्बोधन गर्न सकेनौं भने हामी लोकतान्त्रिक पार्टी कसरी हुन सक्छौंरु,’ हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको छ, ‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ। यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं।’
नेपाली कांग्रेसका केही शीर्ष नेताहरुले हिन्दु राष्ट्र हुनुपर्ने कुरा मञ्चबाटै ब्यक्त गरेका थिए । आईतबार संकलित हस्ताक्षर पार्टी सभापति शेर बहादुर देउवालाई बुझाउने तयारी भइरहेको हस्ताक्षर संकलन कार्यक्रमका नेतृत्वकर्ता सिंहले बताएका छन् ।