इपिएलः आज लिगको अन्तिम खेल , विराटनगरलाई जित्नै पर्ने दबाव

दियो पोस्ट  

काठमाडौँ, पुष २ । एभरेष्ट प्रिमियर लिगमा सोमबार दुई खेल हुने भएको छ । लिग चरणको अन्तिम खेलको रुपमा विराटनगर वारियर्स र काठमाडौँ किंग्स इलाभेन भिड्दै छन् । आजको खेलमा विराटनगरलाई जित्नै पर्ने दबाव रहेको छ ।

क्वालिफायरमा पुग्नको लागि विराटनगरले काठमाडौँमाथि स्पष्ट जित निकाल्नुपर्ने हुन्छ । इपिएलमा सहभागी ६ टोलीमध्य तीन टोली क्वालिफायरमा पुगिसकेका छन् । ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडियर्स र काठमाडौँ किंग्स इलाभेनले प्ले अफमा स्थान बनाइसकेको छ । लगातार ६ खेलमा पराजित भएको पोखरा यसअघि नै लिगबाट बाहिरिसकेको छ । चितवन र विराटनगरमा कुन टिम अगाडी बढ्ने भन्ने कुराको निर्धारण आजको खेलले गर्नेछ ।

चितवन प्ले अफमा पुग्न काठमाडौंविरुद्ध विराटनगर पराजित हुनु पर्नेछ । विराटनगरले जितेमा चितवनको प्ले अफ सम्भावना सकिने छ । विराटनगर ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ । समान अंक जोडेको चितवन पुछारमा छ ।

यता, काठमाडौं भने विराटनगरलाई हराएर क्वालिफायरमा पुग्ने लक्ष्यमा हुनेछ । काठमाडौं ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । आज विराटनगरलाई हराएमा काठमाडौं ५ खेलबाट ८ अंक जोड्दै शीर्ष दुई स्थानमा रहदै क्वालिफायरमा पुग्नेछ ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगरमा बसन्त रेग्मी, अनिलकुमार शाह, आसिफ शेख, रामनरेश गिरी, प्रनित थापामगर, पुष्प थापा, आकाश विष्ट , हरी चौहान, सुमित महर्जन रहेका छन् । विदेशी खेलाडीहरुमा हङकङका बाबर हायत, नेदरल्याण्डसका रोलोफ भेन डि मार्वे र पाउल भेन म्याकेरन, र भारतका स्मित पटेल रहेका छन् ।

त्यस्तै सोमपाद कामीको कप्तानीमा रहेको काठमाडौँमा सागर पुन, राजु रिजाल, नरेश बुढाऐर, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, अमरसिंह रौटेला, विक्रम भुषाल, सांसद शेख, अमित श्रेष्ठ नितेश थापा र पुरन विश्वकर्मा छन् । विदेशी खेलाडीहरुमा यूएईका रोहन मुस्ताफा, आयरल्याण्डका केबिन ओब्राइन र भारतका प्रदीप शाहु छन् ।

त्रिवि मैदानमा दिउँसो १ बजे यी दुई टोलीबिच खेल हुनेछ ।